रूपन्देही– बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार (मण्डी) लाई डिजिटल बजार घोषणा गरिएको छ । प्रभु बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा सब्जी मण्डीलाई डिजिट बजार घोषणा गरिएको हो ।
नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदीप फुयालले मण्डीका सबै व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरे । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल र कृषि उपज थोक बजार (मण्डी) का अध्यक्ष घनश्याम भुसालले यसले कारोबारलाई अझ सहज बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रम सञ्चालन प्रभु बैंकका लुम्बिनी प्रदेश प्रमुख सुभाष कुँवरले गरेका थिए । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार काठमाडौंपछिको दोस्रो ठूलो बजार हो । यहाँ पूर्वदेखि पश्चिम र भारत, चीनलगायत ठाउँका तरकारी एवं फलफूल ल्याइने गरेको छ ।