close

टारी अनि फाँटमा हली, बाउसे र रोपारकोे हिलो छ्यापाछ्याप देखिए पनि लुप्त हुँदै असारे भाका

टारी अनि फाँटमा हली, बाउसे र रोपारकोे हिलो छ्यापाछ्याप देखिए पनि लुप्त हुँदै असारे भाका

Trulli
ADVERTISEMENT

तनहुँ– असार महिनाको मध्य कटिसकेको छ । कहिले झमझम पानी दर्कन्छ, कहिले उखरमाउलो गर्मी । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो किसानलाई छ । 

 

दर्किएको पानी र चर्को घामको वास्ता नगरीकन हली र बाउसे खेतका गह्रा सम्याउँछन् । रोपारेहरू हरिया बिउ काढेर दबदबे हिलोमा छुपुछुपु रोप्छन् ।  कहिलेकाहीँ हली, बाउसे र रोपारकोे हिलो छ्यापाछ्याप पर्छ । यस्तै, दृश्य आजकाल टारी खेत र फाँटमा जताततै देखिन्छ ।

 

रोपाइँको यी दृश्यमा असारे गीत भने छुटेको छ । रोपाइँ सुरु गर्नु पहिले बिहान र सकेपछि बेलुका बाली (असारे गीत) गाएर धान खेती राम्रो होस् भनेर सिमे र भूमे देवतासँग प्रार्थना गरिँदैन ।

 

हली, बाउसे र रोपारेबीच असारे भाकामा जुहारी पनि चल्दैन । असारे गीत गुञ्जिन थलो १५ असारमा हुने रोपाइँ महोत्सवमा बनेको छ । त्यो पनि दुई वर्षदेखि कोरोनाले रोकेको छ । 

 

‘चुइयाको स्याँखु म ओड्नी छैन साउनको झरीमा 
एक मानो चामल साथ लग्ने छैन मरेको घडीमा’

 

यी शब्दमा असारे भाका हालेर दिनभर खेतमा धानको बिउ रोप्दै गाएको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ खैरेनीटारकी ७८ वर्षीया सीतादेवी पौडेल झलझली सम्झन्छिन् ।

 

‘बिहान खेतमा पसेदेखि निस्कने बेलासम्म गाइरहन्थ्यौँ । एकपालि नि बिसाउँदैनथ्यौँ । दिन गएको पत्तो हुन्थेन’, उनी भन्छिन्, ‘दुई–चार जना साथी हुन्थे । उनीहरूसँगै गाइरहन मन लाग्ने । यसरी असारे भाका गाउँदा गर्मी लागेको थाहा हुन्थेन । थकाइ लाएको पनि थाहा नहुने ।’ 

 

अहिले न असारे भाका गाउने उनका दौतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःखपीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उनले सुनाइन् ।

 

खेत बाँझिन थालेपछि असारे भाका पनि गुञ्जिन छाडेको खैरेनीटारकी विष्णुमाया वाग्लेको बुझाइ छ । ‘गाउँबाट सबै बजार झरे । खेत बाँझै राखेर सबै विदेश गएका छन् । रोपाइँ पनि हुन छाड्यो । असारे गीतको के कुरा गर्नू ?’ उनी भन्छिन् ।

 

मनोरञ्जनका यथेस्ट साधन भएपछि पछिल्लो पुस्ताले असारे भाका बिर्सेको उनको धारणा छ । ‘अहिले रेडियो, मोबाइल, टिभी छ । यसैमा भुलेका छन् । हाम्रो पालामा केही थिएन’, उनले सुनाइन् ।

 

असारे भाकामा स्वर गुञ्जिएको कतै नसुन्दा उनलाई खल्लो महसुस हुन्छ । पछिल्लो पुस्तालाई सिकाउनुपर्नेमा उनको जोड छ । ‘हाम्रो संस्कृति हो । जोगाउन पाए हुन्थ्योझैं लाग्छ’, उनले भनिन् । 

 

रोपाइँमा मात्रै नभएर कलाकारले पनि असारे भाका खासै रेकर्ड गराउँदैनन् । एकाधबाहेक बजारमा असारे भाका ल्याउने हिम्मत जुटाउँदैनन् । किनकि पश्चिमा संस्कृतिले प्रभावित कलाकारमा संस्कृति जर्गेना गर्नेभन्दा बजारमा भाइरल बन्ने होड छ ।

 

कृषिलाई उत्सवको रूपमा मनाउन छाडेकाले असारे गीत हराउँदै गएको लोकगीतका अध्येतासमेत रहेका पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्राध्यापक डा. कसुमाकर न्यौपाने बताउँछन् । ‘जसरी पहिलेका मान्छेले खेत रोप्दा रमाउँथे, त्यो रमाउने पद्धति गुमेको छ । पुरानो कृषि पद्धती पनि हराउँदै छ । खेत रोपाइँमा हलोजुवा, गोरुभन्दा ट्रयाक्टर बढेका छ’, उनी भन्छन्, ‘आधुनिकताले असारे गीतमा पनि असर पारेको हो ।’

 

प्रविधि र आधुनिक सभ्यताले संस्कृतिलाई लोप बनाएको उनको भनाइ छ । आयातीत संस्कृतिप्रति मुग्ध हुने मानसिकताले पनि लोकसंस्कृति लोप हुँदै गएको डा. न्यौपानेको विश्लेषण छ । ‘कृषि कर्मप्रति लालयित कम छन् । आयतीत संस्कृतिप्रति मोहित छन् । यिनै कारणले हाम्रो असारे गीत लोप हुन थालेको हो’, उनले
भने ।

 

विदेशीहरू असारे गीत सुनेर गदगद भएजस्तै स्वदेशमै यस्तो भावना जागृत गराउन सके संरक्षण हुने उनले बताए । सांगीतिक संस्कृति जोगाउन सरकारले पनि योजनाबद्ध ढंगले लाग्नुपर्ने न्यौपानेको सुझाव छ । 

 

लोकगीतका थुप्रै प्रकार छन् । असारे गीत कर्म गीत हो । डा. न्यौपानेका अनुसार खेत रोपाइँ गर्दा गाईने भएकाले यसलाई कर्म गीत भनिएको हो । असारे गीत पनि तीन प्रकारका हुन्छन् ।

 

बिहान रोपाइँ सुरु गर्नुपूर्व र साँझ रोपाइँ सकिएपछि सिमे, भूमे देवतासँग प्रार्थना गर्दै गाउने बाली गीत हुन्छ । अर्को असारे पूर्वी पहाडतिर रसिया गीत प्रचलित छ ।
रसिया गीत असारमा मात्रै नभएर अन्य समय पनि गाउन मिल्ने न्यौपानेको भनाइ छ । असारे गीत र रसिया गीत कहीँ–कतै सुनिए पनि बाली गीतको अवशेष मात्र बाँकी रहेको उनले बताए । 

 

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । १५ असारका दिन सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्न हिलो खेल्न लालयित युवा असारे गीत संरक्षणमा पनि आकर्षित हुन आवश्यक छ ।