close

व्यवसायिक कृषिमा आकर्षण बढाउन कृषकलाई अनुदान

व्यवसायिक कृषिमा आकर्षण बढाउन कृषकलाई अनुदान

Trulli
ADVERTISEMENT

बागलुङ- ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम संचालन गरेको छ । चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजनासमेतमा उक्त लगानी र अनुदानको व्यवस्थापन गरिएको छ । 


अभियान अनुसार चालु वर्ष ६ हजार ३ सय ओखरको बोट रोपिएका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि करिमेला र लावाङमा ती बिरुवा रोपिएको हो । कृषिलाई व्यवसायिक बनाएर घरघरै उद्यमी बनाउने अभियान सफल पार्न बिरुवा वितरण गरेर उत्पादनका लागि हौसला समेत दिएको अध्यक्ष प्रकाश घर्तीले बताए । 

 

अभियान सफल पार्न अनुदानमै अलैची खेती विस्तार, प्लास्टिक टनेल वितरण, बाख्रा फर्म संचालन र पकेटक्षेत्र प्रवद्र्धन कार्यक्रम संचालन गरेको उनले जानकारी दिए । ताराखोलाकै पधेराखोला र नाङीमा किवी पकेटक्षेत्र विस्तार गरिएको छ । आलु उत्पादन यहाँको नियमित र मुख्य बाली हो । 

 

ती सबै कृषि फसलको बजारीकरणका लागि संकलन केन्द्र स्थापना, भातखाने डाँडा, करिमेला र अर्गलमा भण्डारण केन्द्र निर्माणको काम थालिएको हो । ती केन्द्रमा गरिने भण्डारणका कारण किसानले समय अनुकुल उत्पादनको बिक्री गर्ने, बजार पठाउने र नाफा आर्जन गर्न सक्ने स्थानीयले बताए । 

 

‘संकलन केन्द्र बनेपछि तत्काल बिक्री नहुने कृषिवस्तु बजार भाउ पाउँदा बेच्न पाइन्छ,’ स्थानीय निता रोकाले भनिन्, ‘आलुको भने घरघरमै भण्डारण गरिएको छ ।’ अघिल्लो वर्षको तुलनामा आलु उत्पादन समेत बढिरहेको उनले बताइन् ।  गाउँपालिकाले भने ५ सय रोपनी जमिन खरिद गरेर सूचिकृत किसानमार्फत मल र प्रविधि दिएर थरीथरी उत्पादनको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अध्यक्ष घर्तीले सुनाए । 

 

उक्त योजनामा एक गाउँ एक उत्पादनका उद्यमी समेतलाई समावेश गरिने उनले बताए । भाडा र खरिदमार्फत गाउँपालिकाको स्वामित्वमा लिएको जमिनमा आलु र फापर खेती गरिने योजना छ । उक्त योजनामा सामुहिक काम गर्ने, तालिम गर्ने र प्रविधिको उपयोगबारे सबैले जान्न पाउने व्यवस्था गरिने छ । 

 

गाउँपालिकाले उपयुक्त स्थानको खोजी गरिरहेको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । सामुहिक काम गरेपछि आउने उत्पादन र आम्दानीबाट कामदारलाई तलब दिने, कृषि कोष बनाउने र नयाँ किसान प्रवद्र्धनको योजना समेत बनाइएको छ । 

 

आलु जोनसँगै तोकिएको स्थानमा पकेटक्षेत्र पनि सञ्चालन गर्न छलफल अगाडि वढाइएको छ । तत्कालका लागि गाउँपालिकाले नागबेली खोला छेउमा जग्गाको सम्भाव्यता अध्ययन गरिरहेकोे घर्तीले बताए ।