close

अर्घाखाँचीमा रैथाने धान लोप हुँदै (भिडियो खबर)

अर्घाखाँचीमा रैथाने धान लोप हुँदै (भिडियो खबर)

ADVERTISEMENT

अर्घाखाँची- पछिल्लो समय रैथाने धान भन्दा पनि हाइब्रिड धानमा कृषकको आकर्षण बढ्दै गएको छ । कुनै सयममा तिल्की धान मनसुली सिम्ठारो लगायतको धानको चामल र धान खेतीका लागि प्रख्यात थियो । तर , पछिल्लो समय किसानले रैथाने जातका धानहरु रोप्नै छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।

 

अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे । पछिल्लो समयमा हाइब्रिड धानको बीउ प्रयोगमा आएपछि रैथाने धान लोप हुन थालेपछि किसानमा चिन्ता थपिएको छ । असार लागेसँगै किसानलाई धान रोप्ने चटारो हुन्छ । यो वर्ष समयमा नै वर्षा भएकाले रोपाइँका लागि समस्या भएन । त्यसैले त अर्घाखाँचीमा ७० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

 

जिल्लाको ८ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने गरिन्छ । तर, पछिल्लो समय बजारमा हाईब्रिड धानको खेतीले गर्दा स्थानीय रैथाने जातका धानहरु लोप हुने अबस्थामा पुगेको छ । स्थानीय धानहरु लामे , मार्सी, सर्जु, कुमालचार, घैया धान जस्ता स्थानीय जात लोप हुने अबस्थामा छन् । यसरी भारत तथा अन्य देशसंग धानको बिउमा आत्मनिर्भर हुदाँ भविष्यमा खेत बाँझै राख्नुपर्ने हो कि भन्ने चिन्ताले किसानलाई भने सताउन थालेको छ । 



जिल्लामा दिन प्रतिदिन हाईब्रिड धानको खेति अगाडि बढेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । अर्घाखाँची जिल्लामा उन्नत जातले ८० प्रतिशत , हाईब्रिडले १५ प्रतिशत र स्थानीय जातको १० प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ । हाईब्रिडले केही समय उत्पादन बढाएपनि किसानको लगानी बढ्ने र माटोलाई बन्जर बनाउने कृषि ज्ञान केन्द्र अर्घाखाँचीको भनाइ छ । 
 


नेपालका रैथाने जातका धानका गुण भएको, उत्पादन धेरै हुने, कम पानी लाग्ने र छिटो पाक्ने धानका नयाँ जात विकसित गर्नका लागि सरोकारवालासँग निरन्तर प्रयास गर्न आवश्यक छ । क्षणिक लाभलाई हेरेर खेती योग्य जमिन नै बिगार्ने काम गर्नुहुँदैन । स्थानीय जातका धानका बिउलाई संरक्षण गर्दै उन्नत जातलाई प्रबर्धन गर्दै उत्पादनलाई जोड दिनु पर्दछ । हाईब्रिड धानलाई विस्थापित गरि भारतसँंगको परनिर्भरतालाई हटाउन तर्फ तीनै तहका सरकार लाग्नुपर्ने देखिन्छ ।