close

आलु गाउँ बन्दै ताराखोला : आलुकै घर, आलुकै भर

आलु गाउँ बन्दै ताराखोला : आलुकै घर, आलुकै भर

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानलाई भ्याई–नभ्याई छ । बारीमा लगाएको आलु स्याहारेर कोदो बाली लगाउन किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि उर्बर मानिन्छ ।

 

हिउँदमा लगाएर वर्षाको समय भित्र्याइने ताराखोलाको आलु बजारमा चर्चित छ । उच्च पहाडी भू–भागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउँछन् ।

 

‘लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन,’ उनले भने, ‘कार्बोहाइड्रेट संकलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मीठो हुने हो ।’ बागलुङमा झन्डै ५ हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यावसायिक रूपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा मात्र छन् ।

 

ताराखोलाका किसानले फलाएको आलु बजारमा मूल्य राम्रो पाउने र खानाका लागिसमेत स्वादिष्ट भएकाले केहीले आलुकै भरमा घरगुजारा चलाएका छन् । रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बिउ मात्रै लगाउने भएकाले यहाँको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नम्बर ५ हिलेका किसान दमन रोकाको बुझाइ छ ।

 

‘घरायसी मल र छापो गाडेर आलु लगाइन्छ,’ रोकाले भने, ‘स्थानीय जातकै बिउ लगाइन्छ । विकासे बिउ प्रयोग भएको छैन ।’ 

 

आलु मीठो ताराखोलाको ताराखोलाकै स्थानीय गायिका खिमा रोकामगर र गलकोटे सर्जक वसन्त थापाले गाएको लोकगीतको थेगोले भनेजस्तै ताराखोलाको आलु स्वादिलो हुने भएकाले यहाँका किसानले आलुको उत्पादन व्यावसायिक रूपमा गर्दै आएका छन् । 

 

स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र किसानलाई व्यावसायिक बनाउन ताराखोला गाउँपालिकाले योजनै बनाएर लागेको छ ।

 

ताराखोलाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरेको छ । 

 

सोही कारण किसान थप उत्साहित भएका छन् । चालू वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजनामा समेत उक्त लगानी र अनुदानको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।