गुल्मी- कृषिप्रधान देश नै कृषिमा अब्बल हुन सकेको छैन । कृषिप्रति युवाको आकर्षण त अझ देख्न मुस्किल छ । गाउँका खेत जोत्न नमान्नेहरू विदेशमा गएर त्यही कृषि गरिरहेका छन् । विदेशी भूमिमा उपज उत्पादन गरिरहेका छन् । यता खेत बाँझै उता विदेशीको खेत हराभरा बनाउने क्रम रोकिएको छैन । तर, नेपालमा पनि कृषि क्षेत्रमा केही परिवर्तन भने भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै कृषिमा युवावर्गलाई आकर्षित गर्ने क्रम बढ्दो छ । त्यो पनि स्मार्ट कृषि कार्यक्रम सञ्चालनमा ल्याएर कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अवलम्बन गरिएको छ । गुल्मीको छत्रकोटमा यही कार्यक्रमले भने अहिले सार्थकता पाइरहेको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका-१ हुँगामा स्मार्ट कृषि कार्यक्रम मार्फत व्यावसायिक तरकारी खेती गर्ने लहर नै चलेको छ । युवाको कृषि कर्मले गाउँमा समृद्धि आएको छ । गाउँमा समृद्धि भित्र्याउने मध्येका एक हुन् दान बहादुर पल्ली । उनी गाउँका स्मार्ट कृषकका रूपमा परिचित छन् । उनको कृषि मोह गज्जबको छ । उनको बारी टमाटरका टनेल र तरकारीले भरिएको छ भने मन खुसीले ।
पल्लीको सपना भारतीय लाहुुरेदेखि युरोपसम्मको थियो । तर, सोचे अनुसारको भएन । उनी अहिले टमाटर, अरु तरकारी र बंगुर पालन गरेर लाखौ रुपैयाँ घरमै कमाउँछन् । हुँगा गाउँमा दान बहादुर जस्ता ५० जना कृषकले व्यावसायिक तरकारी उत्पादन गरिरहेका छन् ।
कृषि ज्ञानकेन्द्र गुल्मी मार्फत हुँगामा ०७६ सालबाट स्मार्ट कृषि कार्यक्रम सञ्चालनमा छ । अहिले २ सय ५० रोपनी क्षेत्रफलमा स्थानीय कृषकले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । स्मार्ट गाउँ कार्यक्रमको लागि दुई वर्षमा लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार र समूहले करिब डेढ करोड खर्च गरेको छ ।
छत्रकोट सहित जिल्लाका सात स्थानीय तहमा स्मार्ट कृषि अन्तर्गत तरकारी उत्पादन, खाद्यान्न बाली, बाख्रा, मौरी, आलु र दुध उत्पादनको क्षेत्रमा काम भइरहेको छ । आधुनिक खेती प्रणाली र जैविक विविधता संरक्षण सँगै दीर्घकालिन कृषि विकास नै स्मार्ट कृषिको उद्देश्य हो ।
पछिल्लो समय व्यावसायिक कृषि तथा पशुपालन गर्ने युवाको संख्या बढ्दै गएको छ । प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ कृषि र पशुपानलको क्षेत्रमा खर्च पनि गरेका छन् । तर, बजारीकरणको दिगो व्यवस्थापन नहुँदा कृषकले सोचे अनुसारको काम गर्न सकिरहेका छैनन् । फलस्वरुपः जिल्लाको उत्पादन जिल्लाकै बजारमा पाइदैन भने केही कृषकले आफ्नो उत्पादन राम्रो मुल्यमा बजार पठाउन सकिरहेका छैनन् ।
स्मार्ट गाउँ कार्यक्रमले कृषकलाई सिप, प्रविधि, अनुदान दिएपछि व्यावसायिक बन्ने उर्जा थपेको छ । हिउँदमा बाँझो बस्ने खेतबारी पनि हराभरा भएका छन् । यो कार्यक्रमले निरन्तरता पाए व्यावसायिक कृषि तथा पशुपालनको माध्यमबाट नागरिकलाई पोषक, सिँचाई, कार्बन, बजार र सामाजिक तथा लैगिंक रुपमा स्मार्ट बनाउने छ ।