close

कटारीले किसानलाई बाँड्यो मिनी ट्रिलर

कटारीले किसानलाई बाँड्यो मिनी ट्रिलर

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको कटारी नगरपालिकाले कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ । परम्परागत रूपमा गरिँदै आएको कृषि पेसालाई आधुनिकीकरण गर्न मिनी ट्रिलर वितरण गरेको हो ।

 

कृषि समूह, कृषि सहकारी, कृषि फार्मलाई मिनी ट्रिलर वितरण गरिएको हो । किसानलाई ७५ प्रतिशत अनुदानमा ४२ वटा मिनी ट्रिलर नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वितरण गरे । 

 

नगरपालिकाको आर्थिक वर्ष २०७७-७८ को कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको हो । 

 

मिनी ट्रिलर वितरण गर्दै नगरप्रमुख श्रेष्ठले किसानलाई निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी खेतीमा जोड दिन यान्त्रिकीकरण गरिँदै आएको बताए । परम्परागत कृषि पं्रणालीले धेरै लागतमा कम उत्पादन हुने भएकाले आधुनिक खेतीले कम लागतमा बढी उत्पादन गर्न सकिनेछ ।

 

कटारीले भौतिक पूर्वाधारपछि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । ‘नगरपालिकाले छिट्टै नगरको पहिचानका लागि किसानलाई कृषक परिचयपत्र वितरण गर्ने तयारी गरिरहेका छौँ ।

 

कृषिमा प्रविधि हस्तान्तरणले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ’, श्रेष्ठले भने । कृषिबाट मात्र समृद्धि हुने भएकाले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सके उत्पादनमा वृद्धि गर्ने र उत्पादन लागत घटाउने उद्देश्यले कृषिमा यान्त्रिकीकरण अभियान थालेको हो । 

 

किसानले एक हल गोरु पालेर गर्ने कामभन्दा १० गुणा बढी काम मिनी ट्रिलरले गर्ने र यसको काम बहुउद्देश्य भएकाले किसानले लाभ लिन सक्नेछन् । 

 

नगरपालिकाका कृषि विकास समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले कृषिलाई आधुनिकीकरण गर्न विभिन्न प्रयास भइरहेको जानकारी दिए ।

 

नगरपालिकाका कृषि शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनी ट्रिलर नगरपालिकाको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा वितरण गरिएका हुन् । नगरपालिकाले ९ एचपीको २७ थान र ७ एचपीको १५ थान मिनी ट्रिलर वितरण गरेको हो ।