close

आत्मनिर्भर बन्दै गल्याङका किसान

आत्मनिर्भर बन्दै गल्याङका किसान

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाका किसान व्यावसायिक र आत्मनिर्भर बन्दै गएको नगर प्रमुख भूपराज अधिकारीले बताएका छन् । 


नगरपालिकाको वडा नम्बर २ बटुवामा भएको दूधमा प्रतिलिटर १५ रुपैयाँ तथा गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमको अनुदान वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


‘अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित हुनुभएको छ । पूर्ण रूपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहनेछ,’ उनले भने ।


नगरले दिएको अनुदानको व्यवस्थाले किसान व्यवसायिक बन्ने क्रम बढेको र यसलाई अझै व्यवस्थित बनाउने क्रममा नगरपालिका लागिरहेको जानकारी उनले दिए । 


जनजीविकामा परिवर्तन ल्याउने विषयलाई फोकस गरेर नगरपालिका अगाडि बढिरहेको उनको दाबी छ । कृषिको बजारीकरण हुन सके किसानलाई अझै उत्साह थपिने बताउँदै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादित कृषि उपजको बिक्री ग्यारेन्टी नगरपालिकाले लिएको जानकारी दिए । 


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङमा जस्तो अनुदान व्यवस्था नेपालमै नभएकाले त्यसको सदुपयोग गर्न किसानलाई आग्रह गरे । उनले अनुदानमा मात्रै भर पर्नुभन्दा आत्मनिर्भर बन्ने योजनामा लाग्न सुझाए । 


वडा नम्बर २ का वडाध्यक्ष इवप्रसाद कर्माचार्यले गल्याङ नगरपालिकाका कारण अहिले किसानको जीवनशैली फेरिएको बताए । कार्यक्रममा वडा नम्बर २ की टीकाकुमारी रानाले सबैभन्दा धेरै दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबपत ६ महिनामा २ लाख ४० हजार ८ सय ५९ रुपैयाँ ४० पैसा पाएकी छन् । रानाले गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार रुपैयाँ अनुदान प्राप्त गरिन् । 


कार्यक्रममा बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दूध संकलन गर्ने ६६ जना किसानलाई उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले ११ लाख ८६ हजार ५ सय ७५ रुपैयाँ वितरण गरिएको छ । 


गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत १७ जना किसानलाई जनही ७२ हजार रुपैयाँका दरले जम्मा ७ लाख १४ हजार रुपैयाँ वितरण गरिएको छ । बटुवा दुग्ध संकलन केन्द्रका अध्यक्ष भीम भण्डारीले प्रतिलिटर १५ रुपैयाँ, लागत साझेदारी र ब्याजमा अनुदान गरी आफ्नो संस्थाले झन्डै ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको सुनाए ।