मुगु- कर्णालीका हिमाली जिल्लामा लगाइएको स्याउ खेतीका बोटबाट काँचो स्याउ बिक्री हुन थालेको छ । स्याउ भण्डारका रूपमा मानिएका कर्णालीका मुगु, जुम्ला, कालीकोटलगायत स्थानबाट काँचो स्याउ बाहिरी जिल्ला निर्यात हुने गरेको हो ।
काँचो स्याउ बाहिरी जिल्ला निर्यात गर्दा यहाँको पहिचान गुम्ने अवस्था देखिएको कृषिविज्ञको चिन्ता छ । खासगरी स्याउ टिप्ने समय २० भदौदेखि असोजसम्म रहेकाले कर्णालीका किसानले साउन अन्तिमदेखि स्याउ टिप्न सुरु गरेपछि काँचो स्याउ धमाधम बिक्री हुन थालेको छ ।
कर्णालीलाई स्याउको राजधानी भनेर चिनिन्छ । प्रायः कर्णालीबासीको मुख्य आम्दानीको स्रोत स्याउ हो । कर्णालीसहित मुगुका धेरै किसानले स्याउ खेती गर्ने गरेका छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कर्णालीमा काँचो स्याउ बिक्री हुन थालेको छ ।
भदौ दोस्रो सातासम्म स्याउ पाक्ने, गुलियो हुने भए पनि यहाँका किसानले काँचै टिपेर बिक्री वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ । किसानले काँचो स्याउ बेच्दा कर्णालीको पहिचान बोकेको स्याउको पहिचान गुम्ने खतरा बढेको कृषि विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख जयप्रसाद कुमाईले बताए । पाकेको स्याउ टिप्न किसानलाई सल्लाह दिइए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
मुगुको स्याउ बाहिर जिल्ला बिक्री वितरण गर्न यहाँका गाउँ तथा वडापालिकाले सिफारिस गर्दै आएका छन् । यहाँका स्थानीय तहको वडा तथा गाउँपालिकाका केही जनप्रतिनिधिले काँचो स्याउ निर्यात गर्न सिफारिस दिने गरेकाले यो समस्या हरेक वर्ष दोहोरिने गरेको हो ।
कृषि विकास कार्यालय मुगुले २० भदौपछि किसान तथा व्यापारीलाई स्याउ बिक्री वितरण गर्न स्थानीय तह तथा सरोकारवाला निकायलाई सुझाएको छ । मुगुमा बाम, रोवा, शोभा, घट्लेख, ताल्चालगायत स्थान स्याउ खेतीका लागि पकेट क्षेत्र रहेका छन् ।