close

गाउँ–गाउँमा सडक पुगेपछि करेला बेचेर लखपति बन्दै किसान

गाउँ–गाउँमा सडक पुगेपछि करेला बेचेर लखपति बन्दै किसान

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरका विभिन्न पालिकाका गाउँगाउँमा सडक पुगेपछि त्यत्तिकै खेर गइरहेको करेलाले राम्रो मूल्य पाउन थालेको छ । सडक नपुग्दासम्म किसानले करेला (इस्कुस) लाई गाईवस्तुको कुँडो पकाएर दिने गर्थे । तर, अहिले गाउँगाउँमा सडक पुगेपछि करेलाले मूल्य पाउनुका साथै घरघरमै व्यापारी पुग्ने गरेका छन् ।


उदयपुरको रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ, ताप्ली, गाउँपालिका र कटारी नगरपालिकाको वडा नम्बर ९ देखि १४, त्रियुगा नगरपालिकाको वडा नम्बर १४ देखि १६ सम्म र चौदण्ढीगढी नगरपालिकाको वडा नम्बर १, ८ का किसान अहिले व्यावसायिक रूपमै करेला खेतीमा लागेका छन् ।


पहाडी क्षेत्रका किसान उत्पादित करेला बिक्री गरेर राम्रो आम्दानी लिन सक्ने भएका हुन् । भदौ पहिलो साता लागेसँगै उत्पादन करेला बिक्री गर्न थालेको खाँबुका स्थानीय हिराबहादुर मगरले बताए । उनले एक महिनाभित्रै ८० हजार रुपैयाँ बराबरको करेला बिक्री गरेको जानकारी दिए ।

 

त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका किसान रेखबहादुर मगरले पनि भदौ दोस्रो सातादेखि बारीकान्लामा उत्पादित करेला बिक्री गरेर अहिलेसम्म ५५ हजार रुपैयाँ आम्दानी भएको सुनाए । दसैँ, तिहारजस्ता चाडवाडको खर्च करेला बिक्री गरेरै मनाउने गरेको र नानीबाबुका लागि पढाइ खर्चसमेत धान्न पुग्ने गरेको उनको भनाइ छ ।

 

बर्सेनि करेला उत्पादनबाट राम्रो आम्दानी गरेर घर खर्च धान्दै आएका यस क्षेत्रका किसानले यस पटक पनि दसैँ खर्च टारेका छन् । यस क्षेत्रको भौगोलिक बनाबट पाखो–भिरालो जग्गा रहेको र अन्य अन्नबाली धेरै उत्पादन नभए पनि पहाडी क्षेत्रका रौता, साउने खाँबु क्षेत्र करेला उत्पादनमा परिचित हुँदै आएको खाँबु डहरका शिक्षक जीतमान राई बताउँछन् ।


यहाँ उत्पादित करेला अहिले सदरमुकाम गाईघाट हुँदै जिल्ला बाहिरसमेत निकासी हुने गरेको रौता चिसापानीका गंगाबहादुर मगरले बताए । यातायात सुविधा गाउँ–गाउँ पुगेपछि करेला खरिद गर्न सिराहा, सप्तरी र सदमुकाम गाईघाटदेखि तरकारी व्यापारी घर–घर गाडी लिएर आउने गरेका छन् ।


यस क्षेत्रमा उत्पादित करेलाले राम्रो बजार पाएको रौता बोलुङखाका केशव रायमाझीको भनाइ छ । खाँबुका खम्बबहादुर मगरका अनुसार यस क्षेत्रमा अहिले सेतो करेला, ठूलो काँडे करेला र साना घरेलु प्रजातिको करेला उत्पादन हुँदै आएको छ । हाल करेला बिक्रीको सिजन सुरु भएसँगै यस क्षेत्रका कृषकले मनग्य आम्दानी लिइरहेका छन् ।