close

बेमौसमी वर्षाले लाखौँ किसानको उठिबास : ३ वटै तहका सरकारको बेवास्ता

बेमौसमी वर्षाले लाखौँ किसानको उठिबास : ३ वटै तहका सरकारको बेवास्ता

Trulli
ADVERTISEMENT

काठमाडौं– देशैभर भएको बेमौसमी वर्षाले ठूलो जनधनको क्षति भएको छ । बाढपहिरोले मृत्यु हुनेको संख्या ८८ पुगेको छ । बाढीका कारण किसानले थन्क्याउनै लागेको बाली भिजेर नष्ट भएको छ । किसान यतिबेला धानबाली घर थन्क्याउन व्यस्त थिए । तर, लगातारको वर्षाका कारण जलमग्न हुँदा धान काटेर पाँजा सुकाएका खेत पानीले भरिभराउ भएका छन् । 

 

झापा, मोरङ, सुनसरी उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, जुम्ला, दाङ, बाँके, कञ्चनपुर, कैलालीलगायत क्षेत्रमा धेरै क्षति भएको छ । क्षतिबारे यकिन तथ्यांक आइसकेको छैन । स्थानीय तहहरूले आफ्नो पालिकामा भएको क्षतिबारे तथ्यांक संकलन गरिरहेका छन् । 


 
कैलालीको कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सतगैवा थारु वर्षाले कति क्षति गरेको छ भनेर यकिन भइनसकेको बताउँछिन् । ‘हामी क्षतिबारे तथ्यांक संकलन गरिरहेका छौँ,’ उनले भनिन्, ‘यत्तिकै भन्न सकिने अवस्था छैन । ९५ प्रतिशत किसान छन् । सबैको बाली नष्ट भएको छ ।’ 


झापाका पनि अधिकांश पालिकामा खेतीबाली नष्ट भएको छ । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकाेटीले अहिले क्षतिबारे सूचना संकलन गरिरहेको बताए । उनका अनुसार पालिकाका सबै वडामा वर्षाले असर गरेको छ ।  ‘हाम्रो १० वटै वडामा क्षति भएको छ,’ उनले भने, ‘भोलिसम्म सबै तथ्यांक आउँछ । करिब सवा करोड रुपैयाँ क्षति भएको अनुमान छ ।’ 

 

यस्तै, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने पनि करिब १८ हेक्टर क्षेत्रको बाली नष्ट भएको बताउँछन् । यकिन तथ्यांक भने आइसकेको नसकेको उनको भनाइ छ । अन्य गाउँपालिकाले पनि अहिले क्षतिबारे तथ्यांक संकलन गरिरहेका छन् । 

 

 छैन किसानलाई राहत योजना

देशैभर भएको वर्षाले ठूलो क्षति पुर्‍याए पनि तीनै तहका सरकारले किसानलाई राहत दिनेबारे केही निर्णय गरेका छैनन् । संघीय सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकालाई राहत घोषण गरे पनि किसानका लागि निर्णय भएको छैन । प्रदेश सरकारले पनि किसानलाई क्षतिपूर्तिबारे निर्णय गरेका छैनन् । धेरैजसो पालिकाहरूले पनि आफ्नो बजेट नभएको भन्दै क्षतिपूर्तिबारे नसोचिएको बताएका छन् । 

 

संघ र प्रदेशले किसानलाई क्षतिपूर्ति दिनुपर्ने पालिकाहरूको माग छ । बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटीले किसानलाई नगरले क्षतिपूर्ति दिन नसक्ने बताए । ‘नगरपालिकाको बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘क्षतिपूर्ति दिन सकिने अवस्था छैन । हामीले कृषि ज्ञान केन्द्र, प्रदेश र संघसँग माग गर्ने हो ।’
उदयपुरको त्रियुगा नगरपालिकाका बलदेव चौधरीले किसानलाई क्षतिपूर्ति दिनेबारे निर्णय नभएको जानकारी दिए । ‘हामीले अहिले क्षतिपूर्तिबारे निर्णय गरेका छैनौँ,’ उनले भने, ‘सबैतिरको क्षति यकिन भइसकेपछि निर्णय गर्छौं ।’

 

बर्दिवास नगरपालिकाले पनि अहिले सबै तथ्यांक आइनसकेकाले किसानलाई राहत दिनेबारे निर्णय नगरेको नगरप्रमु्ख विदुरकुमार कार्कीले बताए । सबै विवरण आएपछि निर्णय गरिने उनको भनाइ छ । 


कतिपय पालिकाले राहत कोषबाट भए पनि किसानलाई राहत दिने तयारी गरेका छन् । तातोपानी गाउँपालिका अध्यक्ष न्यौपानेले विपद् कोषबाट किसानलाई राहत दिने योजना रहेको बताए । ‘क्षति भएको आधारमा विपद् कोषमा भएको रकम क्षतिपूर्ति दिने तयारीमा छौँ,’ उनले भने, ‘तर, त्यसले किसानलाई थोरै मात्र सहयोग हुन्छ । ठूलो हुँदैन ।’ धेरै क्षति भएकाले यसबारे संघ र प्रदेशले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।

 

कैलारी गाउँपालिकाले क्षतिपूर्तिका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । किसानलाई नगद दिने वा हिउँदेबालीका लागि अनुदान दिने भन्नेबारे निर्णय नभएको पालिका उपाध्यक्ष सतगैवा थारुले जानकारी दिइन् । ‘हामीले बजेट छुट्याइसकेका छौँ,’ उनले भनिन्, ‘कार्यपालिकाको वैठक बसेर कसरी राहत दिने भन्ने निर्णय गर्छौँ ।’