close

बेमौसमी वर्षाले लुम्बिनी प्रदेशको धानबालीमा अर्बौंको क्षति

बेमौसमी वर्षाले लुम्बिनी प्रदेशको धानबालीमा अर्बौंको क्षति

Trulli
ADVERTISEMENT

रूपन्देही– बेमौसमी बैगुनी वर्षाका कारण लुम्बिनी प्रदेशको धानबालीमा ठूलो असर पुगेकोे छ । लुम्बिनी प्रदेश सरकारको कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले १२ जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर खेतमा धानबाली डुबेको अवस्था रहेको देखाएको हो । त्यस्तै, ९३ हजार ५ सय ७६ हेक्टर खेतमा धान ढलेको अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ । 


निर्देशनालय प्रमुख यामनारायण देवकोटाले डुबेको धानमध्ये करिब ६५ प्रतिशत पूर्ण रूपमा नष्ट हुने आकलन गरिएको बताए । उनका अनुसार ढलेको धानमध्ये करिब २० प्रतिशत पूर्ण रूपमा क्षति हुन सक्ने आकलन निर्देशनालयको छ ।


‘बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ,’ देवकोटाले भने, ‘काटेर खेतमा राखिएका र काट्न ठिक्क परेको धानबालीलाई वर्षाले सबैभन्दा धेरै असर गरेको छ ।’


प्रदेशका बर्दिया, बाँके, कपिलवस्तु र रूपन्देहीका खेतमा सबैभन्दा धेरै क्षति पुगेको छ । निर्देशनालयले मातहतका कृषि ज्ञान केन्द्रबाट संकलन गरी तथ्यांक सार्वजनिक गरेको हो ।


विवरणअनुसार प्रदेशमा ३ लाख १७ हजार ४१४ हेक्टरमा धान रोपिएको थियो । त्यसमध्ये करिब एक तिहाइ खेतको धानबाली वर्षाले नष्ट गरिदिएको छ । ५५ हजार ५४ हेक्टरमा भने वर्षा सुरु हुनुअघि नै किसानले धान भित्र्याइसकेका थिए । १ लाख ३२ हजार ३ सय ४ हेक्टर खेतमा भने पानीले कुनै असर गरेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै खराब मौसमको संकेत गरे पनि किसानले सूचना नपाउँदा धानबालीमा ठूलो क्षति हुन पुगेको निर्देशनालयको ठहर छ ।


प्रमुख देवकोटाका अनुसार पानी र मल समयमै उपलब्ध भएकाले यो वर्ष प्रदेशमा धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको थियो । ‘प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने आकलन गरेका थियौँ । अब त्यसो हुन पाएन’, उनले भने ।


काटेर घर भित्र्याउन ठिक्क पारेको धान वर्षाले क्षति गरिदिएपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । किसानलाई क्षतिपूर्ति दिने विषयमा निर्देशनालयले छलफल सुरु गरेको प्रमुख देवकोटाले बताए । ‘किसान ठूलो मारमा परेका छन् । क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकारसँग छलफल थालेका छौँ’, उनले भने ।
स्थानीय सरकार पनि आफ्नो पालिकामा कति क्षति भएको छ भनेर तथ्यांक संकलन गरिरहेका छन् । बुटवल उपमहानगर, सैनामैना, तिलोत्तमा, शुद्धोधन गाउँपालिकाले तथ्यांक संकलन सुरु गरेका हुन् ।


शुद्धोधन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले भने, ‘बेमौसमी वर्षाले किसानलाई ठूलो क्षति पु¥यायो । पालिकाबाट के–कस्तो सहयोग हुन्छ, त्यस विषयमा छलफल भरहेको छ ।’ 

 

बुटवल उप–महानगरप्रमुख सुवेदीको निर्देशन


बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले वर्षाले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न कृषि विकास शाखाका कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिएका छन् ।  क्षतिको विवरणका आधारमा तत्कालीन राहतका कार्यक्रम बनाउने उपमहानगरको तयारी छ । 


सोही कामका लागि क्षतिको विवरण संकलन भइरहेको छ । कृषि क्षेत्रमा परेको असरबारे जानकारी लिन उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको नेतृत्वमा कृषि क्षेत्रका विशेषज्ञसहितको टोलीले कृषि क्षेत्रको निरीक्षण र अनुगमन गरिरहेको छ ।


निरीक्षणको प्रारम्भिक रिपोर्टअनुसार वर्षाले काटिसकेको धानमा क्षति पुगेको, तरकारी र फलफूलका बिरुवा र नर्सरीमा क्षति पुगेको पाइएको छ । बुटवलमा हाल करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको छ । यसमध्ये करिब १० प्रतिशत क्षेत्रमा धान पाकेर काटिसकिएको थियो भने ३ प्रतिशत धानमा क्षति भएको पाइएको छ ।


वर्षाले पारेको क्षतिको विवरण संकलनका लागि कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, प्राविधिक सहायक सोमनप्रसाद कुर्मी र वडा कृषि प्राविधिक वंशगोपाल म्रिश्रलगायतको टोली खटिएको अनुगमन महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए । बुटवलले सहरी कृषि प्रवद्र्धनमा धान, गहुँ र तरकारीमा अनुदान दिँदै आएको छ ।