close

किसानका सारथि चौधरीलाई सम्मानको ओइरो

कृषि फसलमा आत्मनिर्भरको बाटो पक्डिँदै पालिका

किसानका सारथि चौधरीलाई सम्मानको ओइरो

कृषि फसलमा आत्मनिर्भरको बाटो पक्डिँदै पालिका

Trulli
ADVERTISEMENT

काठमाडौं– मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी यस वर्षको ‘इन्टिग्रेटी आइकन नेपाल २०२१’ बाट सम्मानित हुने भएका छन् । कृषि क्षेत्रमा राम्रो काम गरेकाले उनलाई सम्मान गर्न लागिएको अवार्ड प्रदान गर्ने संस्था एकाउन्टिबिलिटी ल्याबले जनाएको छ । जेटिए पढेर कृषिमा लागेका चौधरीले गाउँपालिकालाई व्यावसायिक खेतीमा अब्बल बनाएका छन् । 

 

चौधरी कर्मचारी समायोजनपछि स्थानीय तह रोजेर २०७४ मा मकवानपुरगढी गाउँपालिका पुगेका हुन् । उनी त्यहाँ पुग्दा गाउँपालिकाको कृषि शाखामा एक्लै थिए । पालिकाको बजेट छुट्टिइसकेको थियो ।

 

कृषिमा खासै योजना थिएन । तर, उनी त्यहाँ पुगेपछि पालिका अध्यक्षसहित सबैसँग कृषि व्यवसाय कसरी अगाडि बढाउने भनेर छलफल गरे । किसानलाई व्यावसायिक उत्पादनमा बलियो बनाउने प्रयत्न गरेको उनी बताउँछन् । ‘पालिकामा आएपछि मैले व्यावसायिक उत्पादनमा जोड दिएँ,’ उनले भने, ‘मुख्य तरकारी उत्पादन हुने भएकाले तरकारीको व्यावसायिक उत्पादनका लागि पहल गरेँ ।’ कृषकलाई कसरी व्यावसायिक खेती गर्ने भनेर सुरुमा छलफलमा बोलाए । उनले कृषकलाई क्षेत्र विस्तार गरेर खेती गर्दा राम्रो कमाउन सकिने सुझाए ।

 

चौधरीकै पहलमा गाउँपालिकाले कृषका लागि विभिन्न शीर्षकमा बजेट छुट्यायो । त्यसपछि विभिन्न तरकारी उत्पादनका लागि पकेट क्षेत्र घोषण गरे । अहिले पालिकाका सबै वडामा कृषि खेतीलाई प्राथमिकतामा राखिएको छ । यहाँ उत्पादन भएको तरकारी बाहिर निर्यात हुने गरेको छ ।

 

अहिले गाउँपालिका तरकारी, मकै, कोदोलगायतको बालिमा आत्मनिर्भर भएको उनको दाबी छ । ‘गाउँपालिका तरकारी, मकै, कोदोजस्ता बालीमा आत्मनिर्भर भएको छ,’ उनले भने, ‘केही केही बाहिरबाट पनि ल्याउनुपर्छ । गाउँपालिकामा अहिले ड्रयागन फ्रुट खेतीसमेत सुरु भएको छ ।’ 

 

पालिकामै प्रयोगशाला

 

मकवानपुरगढी गाउँपालिकाले अन्नबालीको माटो परीक्षण गर्न प्रयोगशाला स्थापना गरेको छ । प्रदेश सरकारको सहयोगमा पालिकाले ल्याब सञ्चालन गरेको चन्द्रकान्तले बताए । ल्याब स्थापनापछि उत्पादन कम हुने ठाउँको माटो परीक्षण गरी माटोको उर्बरता बढाउने काम गरिरहेको छ । उनी आफैं जेटिए भएकाले धेरै काम गरिरहेका छन् । 

 

बालीमा विभिन्न रोग लागेर उत्पादनमा समस्यामा परेका किसान पालिकामै प्रयोगशाला भएकाले सन्तुष्ट छन् । पालिकाले किसानलाई सहज बनाउन हरेक वडामा कृषि प्राविधिक पनि राखेको छ । प्राविधिकले किसानको घरखेतमै पुगेर सेवा दिने गरेका छन् ।

 

किसानको उत्पादन बिक्री गर्न चौधरीले कृषि सहकारीमार्फत व्यवस्था मिलाइदिएका छन् । पालिकाले खुला प्रतिस्पर्धाबाट सहकारी पसल सञ्चालनमा ल्याएर किसानका उत्पादन खरिद बिक्री गर्ने गरेको छ । 

 

सहकारीमार्फत खरिद÷बिक्री गर्दा किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने गरेको चौधरीले सुनाए । ‘किसानलाई प्रोत्साहन गर्न धान, गहुँ, मकै, कोदो, फापरजस्ता अन्नबाली सहकारीमार्फत बिक्री गर्दा पालिकाले किलोको २ रुपैयाँ अनुदान दिन्छ,’ उनले भने, ‘सहकारीले पनि भण्डारण गरेबापत किलोको २ दुई रुपैयाँ पाउने व्यवस्था छ ।’ यसरी उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसानले मात्रै अनुदान पाउने उनको भनाइ छ । 

 

किसानलाइ क्रेडिट कार्ड 

 

चौधरीले किसानलाई उत्पादनमा सहयोग गर्न नेपाल–बंगलादेश बैंकको सहयोगमा क्रेडिट कार्ड दिने व्यवस्था गरेका छन् । उक्त क्रेडिट कार्डबाट किसानले २ लाख रुपैयाँसम्म बिनाधितो ऋण पाउने व्यवस्था गरिएको छ । अहिले २५ जना किसानलाई कार्डमार्फत ऋण दिएको उनले बताए । ‘अहिले २५ जना किसानलाई क्रेडिट कार्ड दिइएको छ,’ उनले भने, ‘यसको सहजकर्ताको काम म आफैंले गरिरहेको छु । अझै धेरैलाई कार्ड उपलब्ध गराउने लक्ष्य छ ।’ 

 

साना किसानलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याइएको उनको भनाइ छ । ‘हामीले साना किसानलाई लक्षित गरेर यो कार्यक्रम थालेका हौँ,’ उनले भने, ‘थोरै लगानी गरेर उत्पादन गर्नेलाई प्राथमिकतामा राखेका छौँ ।’ 

 

कृषि नै पढेर कृषिमा काम गर्न रमाइरहेका चौधरी बिनादाबी अवार्ड दिने घोषणा गरिएकामा औधी खुसी छन् । उनले भने, ‘मलाई अर्वाडबारे थाहा थिएन । कसैले मेरो नाम सिफारिस गरिदिएको रहेछ । सायद सेवाग्राहीसँग बुझेरै होला । कामको मूल्यांकन भएकामा खुसी छु ।’