close

धानबाली क्षतिको विवरण संकलन गर्दै कपिलवस्तुका स्थानीय सरकार 

धानबाली क्षतिको विवरण संकलन गर्दै कपिलवस्तुका स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा- कपिलवस्तुका अधिकांश पालिकाहरूले वर्षाले धानबालीमा पारेको क्षतिको विवरण संकलन सुरु गरेका छ । लगातार चार दिनसम्म परेको बेमौसमी विपद्ले धानबालीमा पारेको क्षति विवरण वडा कार्यालयमा गएर बुझाउन सूचना जारी गरेका हुन् ।


किसानको धानको क्षति विवरण पत्ता लगाउन सूचना जारी गरेकोे शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । ‘अहिले विवरण संकलन गरिरहेका छौँ । विवरण संकलनपछि क्षतिपूर्ति उपलब्ध गराइनेछ’, अधिकारीले भने, ‘लगातार चार दिनसम्म परेको पानीले धानमा नोक्सान गरेपछि किसानले धेरै घाटा बेहोर्नुपरेको छ ।’


शिवराजको वडा नम्बर ३ ले किसानको धानबालीको क्षति विवरण संकलन गरिरहेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए । वडा तथा नगरका धेरै किसानको धानमा क्षति पुगेकाले क्षतिपूर्ति दिइनुपर्ने उनको धारणा छ । 


पालिकाभित्र कति क्षति भएको छ । कति किसान मर्कामा परेका छन् भन्ने जानकारी लिन विवरण संकलन सुरु गरिएको विजयनगर पालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । वडामार्फत पीडित किसानले क्षतिको विवरण दिन सक्ने उनको भनाइ छ । 


कृष्णनगर नगरपालिकाले पनि विपद्ले पुर्‍याएको धानखेतीको क्षति विवरण संकलन सुरु गरिरहेको छ । वास्तविक विवरण नगरमा आएपछि कार्यपालिकाको निर्णयअनुसार प्रदेश र केन्द्रमा क्षतिपूर्ति माग गर्ने पालिकाहरूको तयारी छ ।


किसानले धान लगाएको कुल क्षेत्रफल, काटेर खेतमा रहेको धान, ढलेको धान, काट्न बाँकी रहेको धानको विवरण वडा कार्यालयले जारी गरेको फारामअनुसार भर्नुपर्नेछ ।

 

कृषि ज्ञान केन्द्र प्रारम्भिक विवरणअनुसार बैमौसमी वर्षाले जिल्लामा ८ हजार हेक्टरमा काट्ने तयारी अवस्थामा रहेको ३१ हजार ५ सय मेट्रिक टन धानमा क्षति पुगेको छ ।