close

कनकाईका किसानलाई सहुलियत कर्जा र ऋण सुविधाको पहुँच

कनकाईका किसानलाई सहुलियत कर्जा र ऋण सुविधाको पहुँच

Trulli
ADVERTISEMENT

झापा– झापाको कनकाई नगरपालिकाले माछापुच्छ्रे  बैंकसँग सम्झौता गरेर कृषकलाई सहुलियतमा ऋण र कर्जा उपलब्ध गराउने भएको छ । पालिकाले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर सहुलियतपूर्ण कर्जा र १० लाखभन्दा कमको व्यक्तिगत तथा सामूहिक साना किसान कर्जा उपलब्ध गराउने भएको हो ।

 

नगरप्रमुख राजेन्द्रकुमार पोखरेल र बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरीबीच कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नगरपालिकाले सिफारिस गरेका व्यक्ति/फर्मलाई राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा उल्लेख भएबमोजिमको कर्जा उपलब्ध गराइनेछ । 


यस्तै, १० लाख रुपैयाँभन्दा कमको व्यक्तिगत तथा सामूहिक साना किसान कर्जा÷व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यद्यपि पालिकाले अनुदानमा अघि सारेका आयोजनामा यो सम्झौता लागू नहुने बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरीले बताए । 

 

सम्झौताले नगर क्षेत्रका कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुग्ने दाबी नगरपालिकाको छ । सम्झौताअनुसार लाभग्राहीले न्यूनतम ३ लाख रुपैयाँसम्म सहुलियतमा ऋण पाउने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

 

विदेशबाट फर्केका युवाले आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्न कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।