close

बागलुङमा १०० रोपनी धानबालीमा क्षति

बागलुङमा १०० रोपनी धानबालीमा क्षति

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ जिल्लाभर बेमौसमी वर्षाले १०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जिल्लाको करिब १०० रोपनी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

 

पहाडमा तराईमा जस्तो धान खेत डुबान नभए पनि पाक्न थालेको धानमा पानी र हावाले क्षति पुर्‍याएको हो । जिल्लाका सबै पालिकाबाट यकिन तथ्यांक भने आउन बाँकी रहेको भट्टराईले बताए ।

 

‘जिल्लाका सबै पालिकाबाट हामीले क्षतिको विवरण संकलन गरिराखेका छौँ,’ केन्द्र प्रमुख भट्टराईले भने, ‘पानी बन्द हुन थालेको छ । धेरै खेतमा धान ढालेको जानकारी आएको छ । तर, धान उत्पादनमा यो वर्ष वृद्धि हुने लक्ष्य राखेको ज्ञान केन्द्रले बेमौसमी वर्षाका कारण खेती घट्ने अनुमान गरेको छ ।’

 

जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । घरमा धान भित्र्याउन काटेर सुकाएका निसीखोला गाउँपालिका वडा नम्बर ५ का नरसिंह घर्तीले साढे १० मुरी उत्पादन हुने खेतको धानमा क्षति पुगेको बताए । रातीको समय पानी परेपछि धान जोगाउन नसकिएको उनको भनाइ छ ।


मार्सी जातका धान लगाएकाले अरू धानभन्दा छिटो पाकेको हुँदा दसैँलगत्तै काटेर भित्र्याउने चटारोमा रहेका किसान बढी मर्कामा छन् ।  निसीखोला क्षेत्रमा अधिकांशले जडन प्रजातिका धान लगाउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसान भने बेमौसमी वर्षाको मारमा परेका छन् ।