कपिलवस्तु/चन्द्रौटा– घरआँगन टेकेका पाहुनाको सत्कारमा दिइने मीठो परिकार खुवा । विजयनगर गाउँपालिका वडा नम्बर ५ नौरगिया गाउँका जुनै घरमा पुगेका पाहुनाको पहिलो सत्कार खुवाबाटै गरिन्छ । यो ठाउँ पुग्ने जोकोहीले खान्नँ भने पनि खुवा मुखमा पर्छ ।
विजयनगर गाउँपालिका वडा नम्बर ५ नौरगियाले भैंसीपालन र खुवा उत्पादनका लागि ख्याति कमाउँदै छ । नौरगिया सोही गाउँकी शिवनाथ अहिरकी श्रीमती फोटी पनि गाउँ पुग्ने जोकोहीलाई खुवाबाटै सत्कार गर्छिन् ।
बिहानैदेखि भैंसी चराउने, कुँडोपानी खुवाउने अनि दुहुने काममा जुट्ने अहिर परिवार बाह्रै घन्टा बेफुर्सदिलो हुन्छ । गोबरको थुप्रो हातमा समाउँदै शिवनाथले भने, ‘खुवा हाम्रो गाउँको परिचय हो । यहाँ आउने जोकोहीले चाखेर मीठो मानी–मानी खान्छन् ।’
उमेरले ४८ वर्ष कट्दै गरेका उनलाई बिहानैदेखि साँझसम्म एकछिन फुर्सद हुन्न । बिहानै भालेको डाँकोमा निद्राबाट ब्युँझिन्छन् । बिहानको ३ बज्दै गर्दा उनी भैंसी फुकाएर जंगल खेद्छन् । यहीबाट सुरु हुन्छ, फोटी र उनका श्रीमान्को दैनिकी ।
सानाठूला गरी उनको गोठमा १५ वटा भैंसी बाँधिएका छन् । यी सबैलाई भुकभुके बिहान नहुँदै जंगल खेदिन्छ । गाउँनजिकै रहेको जंगलमा बिहान ८ बजेसम्म चर्छन् र टन्न अगाएर घर फर्कन्छन्, भैंसी ।
अहिरका १५ मध्ये ७ वटा भैंसी दुहुना छन् । छाकमै १५ लिटर दूध दिन्छन् । अहिर बिहानको सबै सक्ने र अघाएका भैंसी घर फर्केपछि दुहुने काम सुरु हुन्छ । ठूलो बाल्टीभरि दूध दुहेर ठूलै ताउलामा खन्याएपछि मीठो खुवा बनाउन थालिन्छ । यो गाउँका सबैजसो परिवारको दैनिकी यसरी नै सुरु हुन्छ । अहिरले भने, ‘खुवा बेचेरै सबै धानेका छौँ । खुवाले गाउँलाई धनी बनाएको छ ।’
खुवा बनाएपछि अहिरले छोरालाई खुवा बेच्न बजार पठाउँदा रहेछन् । यो बस्तीबाट खुवा बिक्री हुने बजार पुग्न १५ किलोमिटरको दूरी तय गर्नुपर्छ । चन्द्रौटा बजारमा खुवा बिक्री गरेर गाउँले नगद बोकेरै घर फर्किन्छन् । अर्का स्थानीय वीरे यादवले गाउँभरमै सबैभन्दा बढी भैँसी पालेका छन् । उनी पनि बिहानै भैँसी चराउन जान्छन् । बुबा शोभरामले १० वटाबाट सुरु गरेको व्यवसाय अहिले बढेर १५ वटा भैंसीपालनमा पुगेको यादवले सुनाए ।
खुवा उत्पादनबाटै राम्रो आम्दानी भएपछि उनलाई परिवार पाल्न मुस्किल छैन । भैंसी र पाडा बिक्रीको आम्दानी छोडेर खुवाबाट मात्रै मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरेको यादवले बताए । भैंसीपालनका लागि १० कठ्ठा जग्गामा घाँस बिउ लगाएका उनले जंगलमा चराउने भैँसीले दूध कम दिने हुँदा अब दाना र घाँस खुवाएरै पाल्ने योजना बनाएको सुनाए ।
अर्का भैंसीपालक शिवप्रसाद यादवले पनि भैंसीपालनबाटै मनग्य आम्दानी लिँदै आएका छन् । दूधलाई खुवा बनाएर आम्दानी, मलले खेतीपातीमा राम्रो उब्जनी र पाडापाडी बिक्री गर्दा आउने पैसाले छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको उनको भनाइ छ । ‘भैंसीपालन पुरानै पेसा हो । बाआमाले यही काम गरे । मैले पनि गरिरहेको छु’, यादवले भने ।
परम्परागत पेसाको रूपमा रहेको भैंसीपालन र खुवा बनाउने पेसा यहाँको पुख्र्याैली हो । दूधलाई घोटेर बनाइने खुवा मिठाई बनाउन प्रयोग गरिन्छ । पहाडतिर खुवालाई कुराउनी भन्ने चलन छ ।
दूधको मूल्य कम पर्ने हुँदा यो गाउँका किसान खुवातर्फ आकर्षित भएका हुन् । नौरगिंया गाउँ मात्र होइन, नजिकैको डालपुर, नयाँबस्ती, कटनीलगायत गाउँका किसान पनि दूध बेच्न यही गाउँ आउँछन् । दैनिक ५ लिटर दूध यही गाउँका तिलकराम यादवलाई बेच्ने गरेको डालपुरका गुरे गुप्ताले बताए । घरमा खुवा बनाउन झन्झट हुने भएकाले यादवलाई खुवा बनाउन दूध बेच्ने गरेको उनको भनाइ छ ।
प्रतिलिटर ५० रुपैयाँका दरले दूधको खरिद बिक्री हुने गरेको छ । गाउँका सबै किसानबाट दूध खरिद गरी नैरगियाका ९ जनाले मात्र खुवा बनाउँदै आएका छन् । उनीहरूले दैनिक १ क्विन्टल बढी खुवा बिक्री गर्छन् । चार लिटर दूधको एक किलो खुवा उत्पादन हुने गरेको छ ।
दूधलाई बजारमा प्रतिलिटर ६० रुपैयाँ पर्छ भने खुवालाई प्रतिकिलो ४ सय । खुवा बिक्रीका लागि समस्या नभए पनि बजारको दूरी टाढा भएकाले आउजाउमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।
नौरगिया गाउँका कुनै पनि युवा वैदेशिक रोजगारमा छैनन् । गाउँका ३० घरपरिवारले भैंसीपालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । यो गाउँका महिलाले भैँसी चराउनेदेखि खुवा घोट्नेसम्मका काममा पुरुषलाई सघाउने गर्छन् ।
८ पुस २०७७ मा तत्कालीन लुम्बिनी प्रदेशका कृषि, पशुपक्षी तथा सहकारी विकासमन्त्री आरती पौडेलले यो गाउँलाई भैँसी स्रोत केन्द्रका रूपमा घोषणा गरेकी थिइन् । हाल यो गाउँका खेतैभरि घाँस लगाइएको छ । पानीका लागि घरघरमै मोटरपम्प राखिएका छन् ।
खरको छानो रहने गोठमा जस्तापाता भएपछि हावाहुरीको समय र आगलागी होला भन्ने चिन्ता पनि स्थानीयलाई छैन । २०७३ मा गाउँका २५ वटा गोठ आगोले जलेका थिए भने दुई भैंसीसमेत मरेका थिए ।
लुम्बिनी प्रदेश सरकारको ५० प्रतिशत, गाउँपालिकाको ३० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा नौरगियालाई स्रोत केन्द्रको रूपमा विकास गरिएको हो । सरकारले अनुदान दिएपछि गाउँका किसानलाई सहज भएको छ । गत वर्ष २० प्रतिशत लगानी गर्नेलाई योजनामा समावेश गरिएको थियो । भैंसी स्रोत केन्द्रलाई ३ करोड ८ लाखको बजेट दिइएको छ ।
गाउँमा २० वटा भैंसी अटाउने क्षमताको ५ वटा, १० वटा अटाउने क्षमताको २५ वटा गोठ निर्माण भएका छन् । घाँस काट्न २५ थान चापाकटर किसानलाई वितरण गरिएको छ । दुई हर्ष पावरका १० वटा र ६ वटा बोरिङ पनि किसानलाई निःशुल्क बाँडिएको छ ।
३ वटा भैंसी नश्ल सुधारका लागि जिल्ला बाहिरबाट राँगा खरिद गरी ल्याइएको छ । औषधी, घाँसको बिउको बिमा यसै कार्यक्रममा समावेश गरिएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले पशु प्राविधिकको रूपमा जयप्रकाश यादवलाई खटाएको छ ।
भैंसी स्रोत केन्द्रका अध्यक्ष शिवनाथ अहिर किसानको आवश्यकताका आधारमा योजना बनाउने अनि पालिका र प्रदेशमा माग गर्ने योजना रहेको बताउँछन् ।दूध उत्पादन वृद्धि, प्रजनन क्षमतामा बढोत्तरी र नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको भेटेरिनरी तथा पशु सेवाविज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दीपक भुसालले जानकारी दिए ।
किसानको मिहिनेतको प्रतिफलस्वरूप नौरगिया गाउँलाई भैंसी स्रोत केन्द्रको रूपमा विकास गरिएको वडाध्यक्ष अनवर मुसलमानले बताए । उनले भने, ‘तीन गाउँमा गरी ८ सय बढी भैँसी छन् । यहाँका युवा विदेश जाँदैनन् । भैंसीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् ।’
विजयनगर गाउँपालिकाले वडा १ र २ मा पनि पशुपालन केन्द्रित बजेट विनियोजन गरेको छ । थारु समुदाय बाहुल्य यी वडालाई पालिकाले बंगुर पकेट, बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ । नेवलिगञ्ज, जवावैराठ, गुगौलीलगायत गाउँका युवाले अहिले बंगुरपालन गरिरहेको पालिका अध्यक्ष गोपालबहादुर थापाले बताए ।