close

तिहार नजिकिएसँगै माला उन्दै ‘वनमाला’

तिहार नजिकिएसँगै माला उन्दै ‘वनमाला’

Trulli
ADVERTISEMENT

भक्तपुर– तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । 


    
बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् ।  

 

धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उनी बताउँछन् । पुख्र्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउँछिन् । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उनले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउँछिन् ।

 

 विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिने उनी बताउँछिन् । 

 

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान्लाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उनी बताउँछिन् । 

 

स्थानीयवासी सन्तमाया बालाले पनि यसवर्ष  ८२ हजारको माला उत्पादन गरेकी छिन् । उनले भनिन्, ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ ।’ मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो । 

 

बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट रु ४० हजार आम्दानी गरेको बताइन् । किसानले बजारमा आफैले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको  २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन् ।  

   

नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउँछिन् । 

 

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी १ लाखसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन ।