close

मौरीपालन पकेट क्षेत्र बन्दै नमोबुद्ध

मौरीपालन पकेट क्षेत्र बन्दै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकालाई मौरीपालन पकेट क्षेत्रको रूपमा अगाडि बढाइने भएको छ ।  वडा नम्बर ३ देउरालीमा आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यावसायिक रूपमा मौरीपालनलाई प्राथमिकताका राख्दै पकेट क्षेत्रको रूपमा अघि बढाउने घोषणा गरेका हुन् ।

 

नमोबुद्ध नगरपालिका वडा नम्बर ३ र ७ का किसानले लामो समयदेखि मौरीपालन गर्दै आएका छन् । त्यसलाई थप प्रोत्साहित गर्न र मौरीपालनलाई व्यावसायिक बनाउन अब पकेट क्षेत्रको रूपमा विकास गर्दै लगिने नगर प्रमुख तिमल्सिनाले जानकारी दिए । नगरपालिकाले व्यावसायिक मौरीपालन कार्यक्रमलाई सबै वडामा विस्तार गर्दै लैजाने योजना बनाएको छ । 

 

कृषि, व्यापार र पर्यटन, हाम्रो सशक्त अभियान नारासहित नमोबुद्धले नगरका विभिन्न वडालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्दै लगेको छ । दाप्चा क्षेत्रलाई भैँसीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्न नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि अनुदानमा पाडी वितरण सुरु गरिसकेको छ । 

 

प्रदेशसभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यमा भएको मौरी घार वितरण कार्यक्रममा श्रीटार साना किसान महिला सहकारी संस्थामार्फत गोलासहितको ८२ थान मौरी घार वितरण गरियो ।

 

किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि किसानलाई गोलासहितको मौरीघार वितरण गरेको थियो ।  कार्यक्रममा प्रदेशसभा सदस्य भुर्तेलले कृषि क्षेत्रको विकासबाटै नगरमा समृद्धि हासिल गर्न सकिने हुँदा किसानलाई लक्षित गर्दै कार्यक्रम ल्याउनुपर्ने बताइन् । 

 

कार्यक्रममा नमोबुद्धका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष रामशरण हुमागाईं, नमोबुद्धको कृषि विकास शाखा प्रमुख रेशम दाहाललगायतले कृषि क्षेत्रबाटै नगरलाई आत्मनिर्भर गर्न विगतदेखि नै कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रभावकारी रूपमा अघि बढाउने जानकारी दिए । कार्यक्रम श्रीटार साना किसान महिला सहकारी संस्थाका अध्यक्ष इन्दिरा भुर्तेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

नमोबुद्धले मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास गरेर अन्य जिल्लामा पनि मौरीका घार निर्यात गर्ने लक्ष्य राखेको छ । अहिले बाहिरी जिल्लाबाट गोला ल्याएर किसानलाई वितरण गर्नुपर्ने अवस्था रहेको कृषि विकास शाखा प्रमुख रेशम दाहालले जानकारी दिए । उनका अनुसार यो वर्ष पकेट क्षेत्रको रूपमा विकास गर्दै ३ सय घार मौरी वितरण गर्ने लक्ष्य राखिएको छ ।