close

फलेवासका ६ हजार कृषकलाई तरकारीको बीउ वितरण

फलेवासका ६ हजार कृषकलाई तरकारीको बीउ वितरण

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको फलेवास नगरपालिकाका ६ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए । 

 

नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक र व्यावसायिक रुपमा लागेकाको अझै उत्पादन वृद्धि होस भन्ने अपेक्षा नगरको छ । नगरपालिकाले यस वर्ष क्लीन हाउस ग्रीन हाउस कार्यक्रमका लागि ४ लाख विनियोजन गरेको थियो । बजेटबाट बीउ वितरण गरिएको संयोजक घिमिरेले जानकारी दिए । ‘नगरपालिकाका भरिका करिब छ हजार घरधुरीमा प्रति घरधुरीका लागि  ७० बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ’, उनले भने, ‘कृषकले मौसमअनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।’

 

 यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आव २०७६÷७७ मा फलेवासका नगरका ११ वटै वडामा करिब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका उत्पादन वृद्धि गर्नका लागि छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सही सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देविस्थानका अगुवा कृषक देवीप्रसाद भुसाल बर्मेलीले बताए ।

 

तरकारीको बीउ सितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ लिएर किसानलाई वितरण गरिएको उनको भनाइ छ । 

 

कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यस अघि निःशुल्क रुपमा फलफूलका विरुवा विवरण गरेको थियो भने बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसमअनुसार फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए । उनले अब नगरबाट निर्यात गर्नेगरी खेती विस्तार गर्नतर्फ किसानलाई प्रोत्साहित गरिने बताए ।