close

बाख्रापालनलाई आम्दानीको स्रोत बनाउँदै दंगेली किसान

बाख्रापालनलाई आम्दानीको स्रोत बनाउँदै दंगेली किसान

Trulli
ADVERTISEMENT

दाङ– दाङको लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीका गीताकुमारी चौधरीले एक वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएकी छन् । उनले ‘चिसापानी बाख्रा तथा कुखुरा फार्म’ नामबाट खोर बनाएरै बाख्रा पाल्न सुरु गरेकी हुन् ।


एउटा खोरमा माउ र अर्कामा साना पाठापाठी बस्छन् । उनले स्थानीय दुई महिलालाई रोजगारी दिएकी छन् । फार्ममा अहिले २० माउ बाख्रा, १८ खसी र १२ पाठापाठी छन् । ७ लाख रुपैयाँको लगानीबाट सुरु गरिएको व्यवसाय अहिले १५ लाखको कारोबार गर्छ ।


गत दसैँमा १० बाख्रा बिक्री गरेर उनले १ लाख ८६ हजार रुपैयाँ आम्दानी गरिन् । ‘सहकारीले बाख्रा खरिद गर्छ, बिक्रीको समस्या छैन’, उनले भनिन्, ‘नजिकै सामुदायिक वन छ, बाख्रालाई त्यही वनमा चराउने गर्छौं ।’ खाली समयको सदुपयोग र आम्दानी हुने भएकाले आफू बाख्रापालनतिर आकर्षित भएको चौधरीको भनाइ छ । 


यसरी व्यावसायिक बाख्रापालनले दाङका किसानको आम्दानीमा वृद्धि हँुदै गएको छ । कम लगानी र खर्चमा पनि प्रशस्त आम्दानी गर्न सकिने भएपछि जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन फस्टाएको छ ।

 

अधिकांश किसानले बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । छोटो समयमा धेरै लगानी नगरी प्रशस्त आम्दानी दिने भएकाले यो व्यवसायतर्फ किसानको आकर्षण बढेको छ । 


घोराही उपमहानगर वडा नम्बर १ का सुमन थापाले तीन वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । ‘अर्काका भूमिमा दुःख गर्नुभन्दा आफ्नो माटोमा पसिना बगाउँदा आनन्द आएको छ’, उनले भने । कष्ट सहेर काम गर्दा विदेशमा सोचेजस्तो सफलता हात नपरेको र राम्रो कमाइ गरेकाहरू पनि नेपालमा आएर व्यावसायिक रूपमा बाख्रापालनमा आकर्षित भएका छन् । 


चार वर्ष मलेसिया बस्दा पनि केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न सुरु गरिएको थापा बताउँछन् । आफ्नो गाउँठाउँमा केही गरौँ भन्ने सोचाइ आएपछि बाख्रापालनमा लागेको बताउँदै थापाले भने, ‘१ लाखको लगानीमा खोर बनाएर चार वटा पाठीबाट सुरु गरिएको व्यवसायमा अहिले २५ वटा बच्चा दिने माउ, २० वटा पाठापाठी र २ वटा बोका छन् । एउटा माउले वर्षमा दुई पटक बच्चा दिन्छ । तिनले एक पटकमा दुइटासम्म दिने गरेका छन् । नजिकै सामुदायिक वन छ । घर वरिपरि भुइँ घाँस, डाले घाँस लगाएको भएर घाँसको समस्या छैन ।’


उनले खर्च कटाएर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्छन् । उनी भन्छन् ‘२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरू सबै जिल्लाभित्र बिक्री भइरहेको छ । दुई महिनाका पाठापाठी १० हजारका दरले बिक्री हुने गरेका छन् ।’

 

सबै स्थानीय खरी, जमुनापारी जातका छन् । पाठापाठी ठूला हुन नपाई सानैमा बिक्री हुने हुँदा पाल्न सजिलो भएको छ । यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएको छ ।

 

वणशंकर पाठापाठी भयो भने आम्दानी राम्रो हुन्छ कि भन्ने थापालाई लागेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ साउनेपानीकी जयकुमारी डाँगीले पनि चार वर्षदेखि ‘शान्तिनगर बोयर बाख्रा पालन फार्म’ दर्ता गरेर बाख्रापालन गरिरहेकी छन् । उनका घरछेउमा तीन बाख्राको खोर र खोरभित्र तरेलीतरेलीका बाख्रा छन् । तिनमा जमुनापारी र बोयर बाख्रा छन् । 

 

खसी, बोकाको एउटा, माउ बाख्राको अलग र साना पाठापाठीका लागि अलग खोर छन् । चार माउ बाख्रा र एक बोकाबाट बाख्रापालन सुरु गरेकी डाँगीका खोरमा अहिले ३५ माउ बाख्रा, १ सय पाठापाठी र बोयर बोका छन् । ‘१७ कठ्ठा जग्गा भाडामा लिएर डालेघाँस, किम्बु, नेपियर जातका घाँस लगाएकाले घाँसको समस्या छैन’, उनले भनिन् ।

 

उनले गत असोजमा २ लाख ६० हजार रुपैयाँमा बोयरका पाठापाठी प्युठानमा बिक्री गरिन् । ‘तीन महिनाका पाठापाठी बिक्री गर्ने गरेको र घरमै ग्राहक आउने गरेकाले बिक्रीका लागि कुनै समस्या छैन । जिल्लाभित्र र बाहिर पनि बिक्री भइरहेको छ’, उनले भनिन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा छन् । श्रीमान्लाई घरमा बोलाएर सँगै काम गर्ने उनको सोच छ । 


घोराही उपमहानगरको कृषि शाखामा २५० बाख्राका फार्म दर्ता भएको उपमहानगरको पशु विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिए । गत वर्ष नगरका किसानलाई १७९ माउ बाख्रा वितरण गरियो । पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत नगरका ५० किसानलाई बंगुर र वडा नम्बर १ का किसानलाई बाख्रा प्रदान गरिएको थियो ।

 

घोराही उपमहानगर र संघीय सरकारबाट १९ लाख ९२ हजार रुपैयाँ बराबरको बाख्रा प्रदान गरिएको थियो । यो वर्ष निःशुल्क पिपिआर खोप लगाउने तयारी गरिएको र दुई किसानलाई खोर सुधारअन्तर्गत सहयोग गरिने उनले बताए ।

 

घोराही वडा नम्बर १ पहाडी क्षेत्रमा पर्ने र त्यहाँ प्रशस्त वनजंगल रहेकाले किसानले खरी जातका बाख्रा पाल्ने गरेका छन् । त्यहाँका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न ‘बाख्रा पकेट क्षेत्र’ घोषणा गरेर कार्यक्रम अगाडि बढाइएको छ ।  लमही नगरपालिका पशु सेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले लमहीमा ३० बाख्रा फार्म दर्ता भएको बताए ।

 

बाख्रापालक किसानले वर्षमा १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । एउटा बाख्राले वर्षमा कम्तीमा ५० हजार आम्दानी दिने गरेको छ । प्रदेशको सरकारको ‘बाख्रा मिसन कार्यक्रम’ अन्तर्गत लमही वडा नम्बर ३, ६, ८ मा प्रस्ताव आह्वान गरिएको छ । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत बोयर जातको बोका वितरण गरिएकामा यो वर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको उनले जानकारी दिए । बाख्रापालनका लागि पाठापाठी किन्ने गरेका कारण धेरै साना बच्चा बिक्री हुने गरेको छ । 


नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेल किसानका पक्षमा स्थानीय तहले सही ढंगले भूमिका खेल्न नसकेको आरोप लगाउँछन् । तरकारी तथा कृषि क्षेत्रमा केही सम्बोधन गर्न खोजिए पनि स्थानीय सरकारले पशुपालक व्यवसायीका पक्षमा उदारता देखाउन नसकेको उनको गुनासो छ । 


कृषिको पहुँच, बजारीकरण र कृषकलाई बारम्बार अभिमुखीकरणमा ध्यान दिन राज्यका तीनै तहले कदम चाल्नुपर्ने उनको सुझाव छ ।  लुम्बिनी प्रदेश पशुपालक संघ संयोजक प्रेम सुवेदीले कृषकलाई कुनै पनि निकायले हौसला दिन नसकेको आरोप लगाए । कुनै विपद्, प्रकोप भए कृषकले अस्वाभाविक क्षति बेहोर्न बाध्य हुँदा पनि तिनको पीडामा मल्हम लगाउने काम हुन नसकेकामा दुःख व्यक्त गर्दै उनले भने, ‘किसान कहिल्यै सुत्दैन र सुतेको पनि छैन । दिनरात काम गर्छ, त्यसैले सबैले खान पाएका छन् । जुन देशमा किसानको सम्मान हुँदैन, त्यस देशको विकास हुँदैन । हरेक उपजसँग किसान जोडिन्छ तर त्यही किसान उपेक्षामा छ ।’


पशु महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाईंले १५ वैशाख ०७१ मा चितवनबाट थालनी भएको संस्थाले गति लिँदै गएको बताउँदै तीनै तहका सरकारले बाख्रापालक किसानका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र प्रमुख डा. वेदबहादुर केसीले जिल्लामा बाख्राको मासु अन्य देशबाट आयात विस्थापन गर्दै अघि बढ्ने योजना बनाउन, मासु भण्डारण गर्न शीतभण्डार व्यवस्था गर्न, बाख्रापालनबाट रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्ने लक्ष्यका साथ अघि बढ्न किसानलाई आग्रह गरे ।

 

‘जिल्लालाई बाख्रा उत्पादनमा आत्मनिर्भर बनाए मात्रै स्थानीय स्तरमै रोजगार सिर्जना हुन्छ’, उनले भने, ‘दाङमा कुखुराबाहेक अरू पशु स्रोत केन्द्रका रूपमा जोड दिने गरी सबै बाख्रापालक कृषक आए कार्यालयका तर्फबाट नीतिगत पहल हुनेछ ।’ 


व्यावसायिक बाख्रापालक कृषकका लागि प्रदेश सरकारले दिने सुलभ कर्जामा १ करोडसम्म बढीमा पाँच प्रतिशतमा ब्याज सहजीकरण गर्न सघाउने गरेको छ । जिल्लामा गत वर्ष व्यावसायिक कृषकलाई १६ करोड रुपैयाँ सहुलियत कर्जा स्वीकृत भएको छ ।


यो वर्ष बाख्रा, पशुचौपायाका लागि १ लाख ३४ हजार पिपिआर खोप आउने र प्रभावित क्षेत्रलाई प्राथमिकता दिँदै अभियान चलाइने जनाइएको छ ।  तुलसीपुर पशु सेवा शाखा प्रमुख डा. मनोज वलीका अनुसार तुलसीपुरमा २० व्यावसायिक फार्म दर्ता गरेर किसान बाख्रापालनमा लागेका छन् । ‘बाख्रालाई पिपिआर खोप र अन्य स्वास्थ्योपचारमा उपमहानगरले सहयोग गर्ने गरेको छ’, उनले भने । 

 

उपमहानगरको खाद्रे, राम्री, भट्टे, बल्ले र फूलबारीमा व्यावसायिक रूपमा किसानले बाख्रापालन गरेका छन् । वडा नम्बर १ बल्लेका चार समूहलाई बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरेर ससर्त अनुदान दिने कार्यक्रम रहेको जनाइएको छ ।

 

धेरैजसो गाउँपालिकामा बाख्रापालक कृषक संगठित भइरहेको हुँदा अबका दिनमा अधिकतम लाभ लिन पालिका तथा कृषि सरोकार कार्यालयमा स्वीकृत कार्यक्रम र योजनाबारे चासो राख्न उनले आग्रह गरे । 


व्यावसायिक बाख्रापालक महासंघका संस्थापक अध्यक्ष खुशल घिमिरेका अनुसार दाङका १० वटै पालिकामा वडास्तरीय बाख्रापालक व्यवसायीको तदर्थ समिति गठन गरिएको छ । चाडवाडमा मात्रै नभएर सधैँ बाख्रा बिक्रीका लागि स्थानीय तहले वातावरण मिलाएर किसानलाई सहयोग गर्नुपर्ने उनको माग छ ।

 

दाङ जिल्ला व्यावसायिक बाख्रापालक महासंघको प्रथम अधिवेशनले दीपेन्द्र वलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा रामबहादुर मल्ल, सचिवमा मोहनकुमार चौधरी, सहसचिवमा निर्मला डिसी र कोषाध्यक्षमा गौरीकला रोका रहेका छन् ।