close

वालिङका टोलटोलमै पशु चिकित्सक सेवा 

वालिङका टोलटोलमै पशु चिकित्सक सेवा 

Trulli
ADVERTISEMENT

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले टोलटोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोलटोलमा पुगेर पशु स्वास्थ्य सेवा सुरु गरेको हो । अभियानको नगरप्रमुख दिलीपप्रताप खाँणले वडा नम्बर ४ च्यारेमा उद्घाटन गरे । नगरका विभिन्न वडामा पशुपालन गरेका किसानलाई व्यावसायिक बनाउन र पशुपालन गर्दा आइपरेका समस्या समाधानका लागि सहयोग गर्ने मुख्य उद्देश्यसहित अभियान थालिएको नगर प्रमुख खाँणले बताए ।


परम्परागत र निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउन टोलटोलमै पशु उपचार सुरु गरिएको उनको भनाइ छ । नगरपालिकाले वडामा पशु प्राविधिक थप गरी पशु स्वास्थ्य सेवा तथा पशुपालन गर्दा आइपर्ने प्राविधिक समस्या समाधान गर्दै लगिने नगरप्रमुख खाँणले जानकारी दिए । चालू आर्थिक वर्षमा नगरका सबै वडामा यो अभियान सञ्चालन गरिने पशु सेवा शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।

 

नगरपालिकाको प्रत्यक्ष प्राविधिक सेवा नपुगेका टोलमा पशुपक्षीको स्थलगत उपचार, निःशुल्क औषधी वितरण र गोठ तथा फार्ममै पुगेर आवश्यक परामर्श तथा सुझाव दिइने शाखा प्रमुख अधिकारीको भनाइ छ । पशुपालन गर्न चाहने तर ज्ञान अभावले समस्यामा परेका पशुपालक किसानका लागि यो अभियान महत्त्वपूर्ण हुने शाखा प्रमुख अधिकारीको दाबी छ । 

 

सहभागीले उठाएका जिज्ञासाबारे नगरप्रमुख खाँण, शाखा प्रमुख अधिकारी, पशु प्राविधिक लेखनाथ अर्याल र दोलराज गैरेले सहजीकरण गरेका थिए । कार्यक्रम वडा नम्बर ४ का वडा सदस्य ठगप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पशु प्राविधिक गैरेले गरेका थिए ।