close

ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन

ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–पहिलो पटक ताप्लेजुङमा मकै जोनको छुट्टै सञ्चालन समिति गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएको मकै जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो ।

 

चालू आर्थिक वर्षदेखि लागू भएको मकै जोनमा सन्तोष भट्टराई संयोजक रहेको नौ सदस्य सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिका सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहेका छन् । 

 

जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

 

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५/७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजंघा गाउँपालिकाका ३९ वडामा लागू गरिएको छ । अलैँची जोनका लागि क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

 

हाल जोन कार्यक्रम लागू गरिएको क्षेत्रमा सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिए।