close

अत्तरियामा निर्माण हुँदै नमुना कृषि बजार

अत्तरियामा निर्माण हुँदै नमुना कृषि बजार

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई नमुना बजार बनाइने भएको छ । संघीय सरकार मातहतको बजारलाई देशभरकै पहिलो कृषि नमुना बजार बनाइने भएको हो । देशभरमा संघीय सरकार मातहत १० वटा कृषि उपज थोक बजार रहेकामा सुदूरपश्चिमलाई लक्षित गरी स्थापना गरिएको यो बजारलाई नमुना बजारको रूपमा अगाडि बढाइएको हो ।


कृषि विभागका कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले अत्तरियाको कृषि उपज थोक बजारलाई नमुना बजार बनाउन सर्भे भइसकेको बताए । बिहीबार अत्तरियामा कृषिउपज थोक बजारको नयाँ कार्यसमितिलाई सम्बोधन गर्दै उनले नमुना बजार बनाउन नयाँ कार्यसमितिमा जिम्मेवारी थपिएको धारणा व्यक्त गरे ।


उनले बजारलाई नमुना बनाउन ठूला–ठूला पूर्वाधार निर्माण आवश्यक पर्ने भएकाले यो काम बजार व्यवस्थापन समितिले मात्रै नसक्ने हुँदा सबै तहका सरकारको भूमिका रहेकामा जोड दिए । बजारलाई थप व्यवस्थित बनाउन लेखा व्यवस्थापन, बजार मूल्यलाई वेबसाइटमा राख्नेलगायतका काम गर्न आवश्यक रहेको डा.पौडेलले बताए । ‘नेपालमा यस्तै बजार १० ठाउँमा छन । संघीय सरकार मातहत रहेका यी १० बजारमध्ये अत्तरियाको बजारलाई संघीय सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘यसलाई अहिले पनि धेरै निकाय र सरकाबाट सहयोग भएको छ । आगामी दिनमा बजार विकासका लागि सबैको सहयोग आवश्यक छ ।’ 

 

अत्तरियाको थोक बजारले प्रदेशलगायत देशभर र भारतमा पनि व्यापार गर्ने भएकाले यसलाई संघीय सरकार मातहतमा राखिएको उनले जानकारी दिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख खगेन्द्रराज शर्माले कृषि उपज थोक बजार संघीय सरकार मातहत भए पनि यसको विकासका लागि तीन वटै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

‘यो सबैको सम्पत्ति हो । यसलाई सामूहिक रूपमा लिएर देशकै नमुना बजार बनाउन सकिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा उत्पादन भएका कृषि उपज खपत गर्न बजारले ठूलो भूमिका खेल्न सक्छ ।’ सरकार, किसान, व्यापारी मिलेर यसको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याए । गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले अत्तरियाको कृषि बजार प्रदेशकै बजार भए पनि यसको विकासका लागि नगरपालिकाले प्राथमिकता दिएको बताए ।

 

उनले बजारका लागि कोल्ड स्टोर आवश्यकता महसुस गरेर नगरपालिकाले सहयोग गरे अहिलेसम्म निर्माण हुन नसकेको सुनाए । ‘हामीले कोल्ड स्टोर बनाउन सके किसानले कृषि उपजको उचित मूल्य पाउन सक्छन्,’ उनले भने, ‘कोल्ड स्टोर निर्माणका लागि टेन्डर प्रक्रियामा जाँदा न्यूनतम बोली लगाउनेलाई ठेक्का लगाउनुपर्ने भएकाले राम्रो ठेकेदार नपाउँदा कोल्ड स्टोर बन्न सकेन । अहिले कोल्ड स्टोर बनेको भए अर्को कोल्ड स्टोर बनाउन नगरले थप एक÷डेढ करोड छुट्याउने थियो । तर, प्रक्रियामा जाँदा पहिलेको काम हुन सकेन । बजेट फ्रिज गयो ।’


उनले यस क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्रीका लागि चुनौती भएकाले कृषि बजारको महत्त्वपूर्ण भूमिका हुने धारणा राखे । नयाँ कार्यसमिति अध्यक्ष नन्दलाल भट्टले सामान्य तरकारी किनबेच गर्ने क्षेत्रबाट सुरु भएको बजार अहिले संघीय सरकार मातहतको बजार हुनुमा गर्वको महसुस भएको बताए । ‘सुुरुमा यो हाटबजार थियो । त्यसपछि यो कृषि बजार भयो । पछि हामीले यसलाई ठूलो बनाउन ०६१ मा क्षेत्रीय स्तरको बजार बनाउन क्षेत्रीय कृषि उपज थोक बजार नामकरण ग¥यौं । राष्ट्रिय स्तरमा यसको विरोध भएपछि ०७२ मा कृषि उपज थोक बजार नामकरण गरिएको हो’, उनले भने ।

 

बजार अभावमा भारती व्यापारीले नेपाली बजारमा आएर आफ्नै वस्तु बिक्री गरिरहेकामा नेपाली किसान र व्यापारीलाई फाइदा हुने गरी काम भइरहेको उनको दाबी छ । आगामी दिनमा किसानको घर–घरसम्म पुग्न कृषि उपज थोक बजारलाई पालिका देखि वडास्तरसम्म विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । ‘हामीले अत्तरिया क्षेत्रमा ठूलो संरचना निर्माण गर्न सफल भएका छौँ,’ उनले भने, ‘सबैको सहयोगमा यहाँसम्म पुगेका छौँ । आगामी दिनमा यसलाई अझै उचाइमा पु¥याउने प्रयास हुनेछ ।’

 

उनले बजारलाई नमुना बनाउन २ वर्षअघि नै कृषि महाशाखामा प्रस्ताव पेस गरिएको उनले जानकारी दिए । कोरोना महामारीका कारण नमुना बजार बनाउने काममा ढिलाइ भए पनि आगामी दिनमा यो योजनालाई तीव्रता दिइने उनको भनाइ छ । कृषि उपज थोक बजारमा हाल ३० कृषि थोक पसल र ५ खुद्रा कृषि पसल छन् । बजारबाट भारतसँगै नेपालका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटीलगायत क्षेत्रबाट तरकारी आउने गरेको छ । यस्तै, कृषि उपज केन्द्रबाट स्थानीय बजारसँगै काठमाडौं, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाइने गरिएको छ ।

 

नयाँ व्यवस्थापन समिति चयन

कृषि उपज थोक बजारलाई थप व्यवस्थित बनाउन नयाँ निर्देशिकाअनुसार व्यवस्थापन समिति चयन गरिएको छ । पहिलो पटक कैलालीका १३ वटै स्थानीय तह र कृष्णपुर नगरपालिकाका किसान एवं कृषि व्यापारीको सहभागितामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको अध्यक्षमा पुनः नन्दलाल भट्ट निर्विरोध चयन भएका छन् । भट्ट स्थापना कालदेखि समितिको अध्यक्ष छन् । त्यसैगरी समितिको सदस्यमा हरिदत्त भट्ट, तेजराज पनेरु, अमरसिंह महरा, डिल्लीराज जोशी र महिला सदस्य मन्तोरा राना चयन भएका छन् ।


निर्वाचित पदाधिकारीलाई गोदावरी नगरपालिका प्रमुख साउदले प्रमाणपत्र वितरण गरे । निर्वाचन अधिकृत छेदीप्रसाद यादवले समितिमा थप ४ जना पछि मनोनीत गरिने बताए । स्थानीय निकायका प्रतिनिधि १, कृषि÷पशु कार्यालय अधिकृत १, जिल्ला समन्वय समितिबाट १ र बजार व्यवस्थापक सदस्यसचिव रहने व्यवस्था रहेको उनले जानकारी दिए ।