close

अत्तरिया कृषि बजारको जग्गा वर्षौंदेखि अतिक्रमित

अत्तरिया कृषि बजारको जग्गा वर्षौंदेखि अतिक्रमित

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि उपज थोक बजारको जग्गा वर्षांैदेखि अतिक्रमणमा परेको छ । बजारको अत्तरिया–धनगढी ६ लेन सडक किनारामा रहेको करोडौँ मूल्य पर्ने जग्गा अतिक्रमणमा परेको हो ।

 

२० वर्षअघि अतिक्रमित जग्गाको अतिक्रमण हटाउन पटक–पटक पहल भए पनि नसकिएको स्थापना कालदेखि नै उक्त बजारको नेतृत्व गरेका नन्दलाल भट्टले बताए ।कृषि बजारका लागि छुट्याएको १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उनले जानकारी दिए ।

 

‘उतिबेला भोगाधिकार कृषि मन्त्रालयमा रहने गरी श्रीपुर मालाखेती साना किसानलाई कृषि बजार सञ्चालन गर्न दिइएको थियो,’ उनले भने, ‘पछि तत्कालीन समय साना किसानका कर्मचारीले नै बदमासी गर्न थालेपछि छुट्टै समिति बनेको थियो । सोही समय जग्गा पनि अतिक्रमणमा परेको थियो ।’

 

०५५ मा स्थापना गरिएको कृषि बजारको दक्षिणतर्फको १२ कठ्ठा जग्गा ०५८ मै अतिक्रमणमा परेको उनको भनाइ छ । ‘यहाँ एक जना झोपडी बनाएर बसेका थिए । उनको माथिल्लो निकायसम्म पहुँच रहेछ,’ उनले भने, ‘अतिक्रमण हटाउन तत्कालीन जनआन्दोलनको समय जिल्ला प्रशासन कार्यालयले निर्णय गरे पनि त्यतिबेला अतिक्रमण हटाउन सकिएन ।’

 

०५५ मा स्थापना भएको बजारसँग हाल ३ बिघा १८ कठ्ठा जग्गा मात्रै बाँकी छ । सुरुमा हाटबजार नामकरण गरिएकामा ०६१ मा यसको नाम क्षेत्रीय कृषि उपज थोक बजार राखिएको थियो भने ०७२ मा नाम कृषि उपज थोक बजार राखिएको हो । 

 

कृषि उपज थोक बजारका अध्यक्ष भट्टले स्थानीय सरकार र प्रशासनले पहल गरे मात्रै अब अतिक्रमण हटाउन सकिने
बताए । संघीय सरकार मातहतको यो बजारलाई हाल नमुना बजार बनाउन सर्भेसमेत भइसकेको छ । तर, नमुना बजार बनाउन हालको जग्गा अभाव हुने देखिएको छ ।

 

कृषि विभागका कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले यहाँ बजार स्थापना गर्न तत्कालीन कृषि मन्त्रालयले दामनको आफ्नो जग्गा वनलाई दिएर यो जग्गा आफ्नो मातहतमा ल्याएको बताए । उनले यो बजारलाई विस्तार गर्न थप जग्गा आवश्यक पर्ने भए पनि अहिले भएको जग्गा नै अतिक्रमित भएको जानकारी दिए ।

 

‘यो बजारलाई अझै विस्तार गर्न जग्गा थप्नुपर्ने अवस्थामा भएको जग्गा पनि अतिक्रमित भएको छ,’ उनले भने, ‘अतिक्रमण हटाउन स्थानीय सरकाले पहल गर्नुपर्छ । यसका लागि स्थानीय सरकाले सहयोग गर्नुपर्छ ।’

 

अत्तरियाको यो बजार देशभरकै १० वटा कृषि बजारमध्ये संघीय सरकार मातहतमा रहेको छ । कृषि उपज थोक बजारमा हाल ३० वटा कृषि थोक पसल र ५ खुद्रा कृषि पसल छन् । ती सबै पसललाई कृषि उपज थोक बजारले भाडामा दिएको छ ।

 

बजारबाट भारतसँगै नेपालका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी आदि क्षेत्रबाट तरकारी आउने र केन्द्रबाट स्थानीय बजार हुँदै काठमाडौंलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाइने गरिएको छ । हाल बजारभित्र कोल्ड स्टोर पनि निर्माणाधीन अवस्थामा छ ।