close

बंगुरपालनबाट आम्दानी गर्दै बर्दघाटका किसान 

बंगुरपालनबाट आम्दानी गर्दै बर्दघाटका किसान 

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम–बर्दघाट नगर क्षेत्र व्यावसायिक बंगुरपालनमा अब्बल हुँदै गएको छ । निर्वाहमुखी बंगुरपालन गर्दै आएका यहाँका किसान अचेल व्यावसायिक बन्दै गएका हुन् । 

 

बंगुरका पाठापाठीबाट बिक्रीबाट छिटो आम्दानी हुने र बिक्री नभएका पाठापाठी हुर्काएपछि मासुका लागि बिक्री गर्न सकिने भएपछि यहाँका किसान बंगुरपालनमा आकर्षित भएका हुन् । 

 

बर्दघाट नगर क्षेत्रमा हाल ५ वटा माउदेखि २ सय बंगुर पाल्नेसम्मका किसान सयौँ छन् । स्थानीय बजारदेखि देशका ठूला सहरमा बंगुरको बजार रहेको हुँदा उत्पादनमा लागेको सप्तरंगी कृषि तथा पशुपालन प्रालिका सञ्चालक प्रकाशकुमार विश्वकर्मा बताउँछन् । 

 

‘पाठापाठीदेखि मासुसम्म सहज बिक्री गर्न सकिन्छ’, विश्वकर्मा भन्छन्, ‘नश्ल सुधार गरिएका पाठापाठीको हारालुछ नै छ । बंगुरपालनमा भविष्य देखेको छु ।’ उनको बर्दघाट नगरपालिका वडा नम्बर ५ पाल्डाँडास्थित ३ वटा खोरमा अहिले २ सय बढी बंगुर छन् । यो वर्ष २ सय बढी पाठापाठी बेच्ने विश्वकर्माको लक्ष्य छ ।

 

‘पाठापाठी बिक्री गर्न नसके मासुको योजनासमेत बनाएका छौँ’, विश्वकर्माले भने, ‘आफ्नै दाना उद्योग सञ्चालन हुँदै छ । दाना उद्योग सञ्चालनपछि बंगुरको उत्पादन लागत कम हुने विश्वास छ ।’

 

करिब १ करोड रुपैयाँ लागतमा दाना उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । बंगुरपालनदेखि दाना उद्योग सञ्चालनसम्म ३ करोड रुपैयाँ बढी खर्च भइसकेको विश्वकर्माले बताए । उनको फार्ममा हाल ६ जनाले रोजगार पाएका छन् ।

 

बर्दघाट वडा नम्बर १६ का किसान गिरबहादुर गुरुङले हाल १५ वटा बंगुरपालन गर्दै आएका छन् । गत वर्ष १ सय बढी पाठापाठी बेचेका उनले यो वर्ष भने बेच्न नसकेको बताए । ‘मसँग साना–ठूला गरेर ४५ बंगुर छन्’, गुरुङले भने, ‘मासुको खुद्रा मूल्य ४ सय छ । हामीले थोकमा ३ सय ३० रुपैयाँ मात्र पाउँछौँ । बंगुर उत्पादन भए पनि बिक्री गर्न भने गाह्रो छ ।’

 

बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले चालू वर्ष बंगुरपालक किसानलाई लक्षित गरइी यन्त्रीकरण एवं मासु मिसन कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । नगर क्षेत्रमा ३० वटा व्यावसायिक बंगुरपालन फार्म सञ्चालित छन् ।

 

बर्दघाट नगरपालिका पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख भरत लम्सालले किसानबाट पाठापाठी समयमै बिक्री गर्न नसकेको गुनासो आएको बताए । ‘डेढ महिनामा पाठापाठी बिक्री गर्नुपर्ने हुन्छ’, उनले भने, ‘बिक्री नभएको कुरा आएको
छ ।’

 

उत्पादित मासु र माउ बिक्रीमा भने समस्या नदेखिएको लम्सालको भनाइ छ । ‘नगर क्षेत्रमा ३ हजार बढी बंगुर पालिएको
छ । साप्ताहिक हाटबजार र गाउँघरमा मासु बिक्री गर्ने चलन छ’, लम्सालले भने, ‘आधिकारिक बंगुरको मासु बेच्ने थलो
छैन ।’

 

एकीकृत सञ्जालमार्फत बजारीकरण गर्ने योजना रहेको उनले सुनाए । ‘अब सञ्जालमार्फत बजारीकरणको काम गर्दै छौँ’, लम्सालले भने ।