close

बसाहा सिँचाइ कुलो स्तरोन्नति हुँदै 

बसाहा सिँचाइ कुलो स्तरोन्नति हुँदै 

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ । स्थानीय किसानलाई खेतीबालीका लागि वर्षौंदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई स्तरोन्नति गर्न लागिएको हो ।


वडा नम्बर ४ को तीनदोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँ लागतमा निर्माण गरिने भएको हो । कुलो स्तरोन्नति गर्न नगरपालिका, प्रदेश र संघीय सरकारको २०÷२० प्रतिशत बजेट तथा ३० प्रतिशत साना सिँचाइ कार्यक्रम (एसआइपी) को लागत सहभागिता रहनेछ । 


स्वीस सरकारको सहयोगमा जिल्लामा सञ्चालित एसआईपीले योजनामा २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ बेहोर्ने जनाइएको छ । त्यस्तै, चौदण्डीगढी नगरपालिका, प्रदेश र संघीय सरकारले ११ लाख ५० हजार १ सय ६२ रुपैयाँका दरले ३४ लाख ५० हजार ४ सय ८६ रुपैयाँ बेहोर्नेछन् ।

 

योजना निर्माणमा कुल लागतको १० प्रतिशत स्थानीय किसानको जनसहभागिता अनिवार्य गरिएको छ । कुल ५७ लाख ५० हजार रुपैयाँ लागतमा पक्की सिँचाइ कुलो निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । वर्षौंदेखि सञ्चालन हुँदै आएको बसाहा क्षेत्रकै सबभन्दा पुरानो सिँचाइ कुलो हालसम्म कच्ची भएकाले वर्षायाममा पहिरो र बाढीले भत्काएर अवरोध हुने गरेको थियो । 

 


बर्सेनि भत्कने तथा बिग्रने हुँदा किसानलाई सिँचाइमा समस्या पर्दै आएकामा नगरपालिकाले कुलोलाई पक्की र दीर्घकालीन योजनाको रूपमा विकास गर्न चालू वर्ष बजेट व्यवस्था गरेको हो । नगरपालिका एक्लैले सञ्चालन गर्न पर्याप्त स्रोत अभाव भएकाले प्रदेश, संघ र एसआइपीसँग साझेदारीमा पक्की कुलो बनाउन लागिएको हो । 

 


बसाहा क्षेत्रका १७० घरधुरी परिवार लाभान्वित हुने कुलोको लम्बाइ १ हजार ९ सय मिटर छ । यसमध्ये १ हजार ३ सय मिटरसम्म पक्की ढलान हुनेछ भने बाँकी ६ सय मिटर यसअघिकै कुलोलाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको फिल्ड सुपरभाइजर इन्जिनियर सन्तोष साहले बताए । उनका अनुसार कुलोको चौडाइ ५० सेन्टिमिटर र उचाइ ४० सेन्टिमिटर रहनेछ । 

 

चौदण्डीगढी नगरपालिकाका ६५ प्रतिशत नागरिकले कृषिमा पेसा अँगाल्दै आएका छन् । कृषि मुख्य पेसा भएकाले व्यावसायिक र उद्यमको रूपमा विकास गर्न नगरपालिकाले हरेक क्षेत्रमा सहुलियत तथा बजेट छुट्याउने गरेको छ । नियमित पानी बगिरहने पहरे खोलामा मुहान बनाएर कुलो ल्याइने भएकाले यसले स्थानीय किसानको उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले बताए ।