close

नमोबुद्धका किसानलाई बाँडियो कृषि सामग्री

नमोबुद्धका किसानलाई बाँडियो कृषि सामग्री

Trulli
ADVERTISEMENT

काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत सोमबार कृषि सामग्री वितरण गरिएको हो । 

 

किसानलाई ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिँचाइ सेट, प्लास्टिक पोखरी निर्माणका लागि २५ थान प्लास्टिक सामग्री तथा तरकारी खेती नमुना प्रदर्शनीका निम्ति ४७ वटा प्लास्टिक पोखरी निर्माण सामग्री वितरण गरिएको छ ।


यस्तै, भकुन्डेबेँसीमा अवस्थित कृषि उपज संकलन केन्द्रका चार वटा स्टलका लागि तरकारी राख्ने क्रेट १०० वटा वितरण गरिएको छ । इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरिएको हो ।


कार्यक्रममा नगरप्रमुख टीपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नम्बर ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, कृषि समितिका संयोजक एवं वडा नम्बर ९ का वडाध्यक्ष मेलबहादुर लामा, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण उपाध्यायलगायतले किसानलाई उक्त सामग्री हस्तान्तरण गरे ।

 

नगरप्रमुख तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गरेर कृषि विकासमा योगदान दिन आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले विगतमा पनि यसैगरी कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए । आयोजनाबाहेक नमोबुद्ध नगरपालिकाले यो वर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । 


नमोबुद्धमा सञ्चालन भइरहेको फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाअन्तर्गत चालू आर्थिक वर्षमा वडा नम्बर ३ र वडा नम्बर १० मा कृषि सिकाइ केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आबद्ध छन् । आयोजनाअन्तर्गत नगरपालिकाको भकुन्डेबेँसीमा गत वर्षदेखि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिएको छ ।