close

बागमती प्रदेशका २४ लाख बढी भेडाबाख्रालाई लगाइँदै निःशुल्क पिपिआर खोप

बागमती प्रदेशका २४ लाख बढी भेडाबाख्रालाई लगाइँदै निःशुल्क पिपिआर खोप

Trulli
ADVERTISEMENT

मकवानपुर–बागमती प्रदेशका २४ लाख बढी भेडाबाख्रालाई निःशुल्क पिपिआर रोगविरुद्धको खोप लगाइने भएका छ । प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले प्रदेशका १३ जिल्लाका ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार २१७ बाख्रालाई निःशुल्क पिपिआर खोप लगाउने भएको हो ।


प्रदेशभरका किसान लाभान्वित हुने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो । मन्त्रालयले सप्ताहव्यापी खोप अभियान व्यवस्थित एवं प्रभावकारी सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ ।


प्रदेशभित्रका ११९ वटै स्थानीय तहका किसानले पालेका भेडा बाख्रामा महामारीको रूपमा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि मंगलबारबाट साताव्यापी पिपिआर रोगविरुद्धको खोप लगाउन सुरु गरेको हो ।
खोप अभियान २ फागुनसम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए ।


बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुन लागेको पिपिआरविरुद्धको खोप अभियानका लागि भ्याक्सिनेटर नियुक्त गरी सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको उनले जानकारी दिए ।


संघीय ससर्त अनुदानमार्फत प्राप्त ११ लाख ९० हजार डोज पिपिआरविरुद्धको खोप एवं कुल १ करोड १९ लाख रुपैयाँ बजेटबाट प्रदेशभरका किसानले पालेका भेडाबाख्रामा लगाइने र त्यसका लागि आवश्यक तयारी पूरा भइसकेको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले बताए ।

उनका अनुसार भेडाबाख्राको संख्याका आधारमा खोपको मात्रा कम भए पनि अपुग खोप केही दिनमै खरिद गर्ने तयारी भइरहेको छ ।


खोप अभियानका लागि मन्त्रालयले १३ वटा जिल्लाका सबै स्थानीय तहमा कुल १ हजार १३७ वटा खोप केन्द्र तोकेर ४६० जना भ्याक्सिनेटरसमेत नियुक्त गरिसकेको छ ।

मन्त्रालयले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत सबै स्थानीय तहसँग समन्वय गरेर नुवाकोटका लागि ८० वटा खोप केन्द्र र २९ जना भ्याक्सिनेटर, रसुवका लागि २८ खोप केन्द्र र ७ जना भ्याक्सिनेटर, दोलखाका लागि १२१ खोप केन्द्र र ४० जना भ्याक्सिनेटर, सिन्धुपाल्चोकका लागि २८ वटा खोप केन्द्र र ६ जना भ्याक्सिनेटर, सिन्धुलीका लागि २८ वटा खोप केन्द्रका लागि २४ जना भ्याक्सिनेटर, रामेछापका लागि ४० वटा खोप केन्द्र र ४४ जना भ्याक्सिनेटर, काठमाडौंका लागि ३८ वटा खोप केन्द्र र ३८ जना भ्याक्सिनेटर, ललितपुरका लागि ३० वटा खोप केन्द्र र ३० जना भ्याक्सिनेटर, भक्तपुरका लागि १२ वटा खोप केन्द्र र १२ जना भ्याक्सिनेटर, काभ्रेका लागि १०७ वटा खोप केन्द्र र ५५ जना भ्याक्सिनेटर, चितवनका लागि ४४ खोप केन्द्र र ३८ जना भ्याक्सिनेटर, मकवानपुरका लागि ४९६ वटा खोप केन्द्र र ८८ जना भ्याक्सिनेटर, धादिङका लागि ८५ वटा खोप केन्द्र र ४९ जना भ्याक्सिनेटर नियुक्त गरिएको छ ।

मन्त्रालयले खोप अभियानको दैनिक तथ्यांक संकलन, व्यवस्थापनलगायतका लागि सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय र मन्त्रालयमा फोकल व्यक्तिसमेत तोकिएको छ भने दैनिक तथ्यांक तथा अन्य सूचना सार्वजनिक गरिने व्यवस्था मिलाएको छ ।
मन्त्रालयले खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक खोप कार्ड, खोप अभिलेख फाराम, खोप स्टिकर तथा तथ्यांक संकलनका लागि आवश्यक विवरण तयार गरी सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत निर्धारित खोप केन्द्रमा उपलब्ध गराइसकेको जनाएको छ ।

पिपिआर भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने उनले बताए ।

यो रोग सुरुमा अफ्रिका महादेशबाट आए पनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको मन्त्रालयले जनाएको छ ।