close

रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीको लगानी प्रस्ताव

रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीको लगानी प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं–तीन विदेशी कम्पनीले नेपालमा रासायनिक मल कारखाना खोल्न तीन लगानी प्रस्ताव गरेका छन् । छिमेकी भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेस गरेको लगानी बोर्डले बताएको हो ।

 

सरकारले नेपालमै मल कारखाना खोल्न लगानी मोडल अध्ययन गरिरहेका बेला यस्तो प्रस्ताव आएको बोर्डका उपसचिव एवं सूचना अधिकारी रमेश अधिकारीले बताए । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेको उनले जानकारी दिए ।

 


‘प्राकृतिक ग्यास वा विद्युत् कुन प्रविधिमा आधारित उद्योग खोल्ने भन्ने बहस र अध्ययन भइरहेका बेला तीन कम्पनीबाट प्रस्ताव आएको छ । हामी अध्ययन गर्दै छौँ,’ अधिकारीले भने । मल कारखानामा लगानी गर्न आएको प्रस्तावमा प्रारम्भिक अध्ययन गर्न समिति गठन गरिएको बोर्डले जनाएको छ ।

 

रासायनिक मल अभाव भएपछि नेकपा एमाले अध्यक्ष केपी ओली सरकारको पालामा १४ कात्तिक ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वदेशमै मल कारखाना खोल्नका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा उद्योग र कृषिमन्त्री सदस्य थिए । 

 

प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा कारखाना स्थापना गर्न झन्डै १ खर्ब रुपैयाँ लाग्ने बताएर तीन प्रकारको लगानी मोडल प्रस्ताव गरेको थियो । यसमा ४० प्रतिशत निजी, विदेशी ४० प्रतिशत र २० प्रतिशत सरकारी लगानीमा कारखाना खोल्ने सुझाइएको थियो । आव ०७८/७९ को बजेटले नेपालमा मल कारखाना खोल्ने र यसका लागि थप अध्ययन गर्ने नीति लिएको थियो ।

 

मल कारखाना खोल्नेबारे सरकारले पहल थालेसँगै बाह्य लगानीकर्ता उत्सुक देखिए पनि मल कारखानाको प्रविधिबारेको अन्योल भने रहेको लगानी बोर्डले बताएको छ । गत वर्ष तत्कालीन अर्थमन्त्री पौडेल संयोजकत्वको कार्यदलले नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने तर तत्कालका लागि विद्युतीय प्रविधि कठिन रहेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

 

ग्यासको सहजता र कम लागतमा कारखाना खोल्न प्राकृतिक ग्यासमा आधारित प्रविधि नै उत्तम विकल्प भएको कार्यदलको निष्कर्ष थियो । तर, नेपालमा बिजुलीको पर्याप्ततासँगै आयातीत प्राकृतिक ग्यासभन्दा बिजुलीमा आधारित प्रणालीमा जोड दिन तत्च्कालीन प्रधानमन्त्रीले ओलीले कार्यदललाई निर्देशन दिएका थिए ।


मल कारखानामा उन्नत प्रविधि प्रयोगबारे सोमबार ऊर्जा, कृषि र लगानी बोर्डले काठमाडौं विश्वविद्यालयको अनुसन्धानकर्तासँग परामर्श गरेको बोर्डका सूचना अधिकारी रमेश अधिकारीले बताए । नेपालमा वार्षिक साढे ७ लाख मेट्रिक टन रासायनिक मलको माग रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।