close

बाणगङ्गा नगरपालिकाका कृषकलाई दक्षिण कोरिया पठाइँदै

बाणगङ्गा नगरपालिकाका कृषकलाई दक्षिण कोरिया पठाइँदै

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कृषि क्षेत्रमा कोरियन पद्धति सिकाउन कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने भएको छ । बाणगङ्गागा नगरपालिकाले मौसमी कृषि कामदार स्वरूप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने तयारी गरेको हो ।

 

कृषिमा आधुनिकीकरण गर्दै विदेशी प्रविधि र सीप सिकाउन स्थानीय ५ सय ७० जना कृषकलाई पालिकाबाट छनौट गरी पठाउने तयारी भएको बताइएको छ । जसका लागि नेपाल कल्चर सेन्टर कोरियाका पदाधिकारी र बाणगङ्गा नगरपालिकाबीच प्रारम्भिक चरणको छलफल भएको छ ।

 

कृषि प्रणाली विकासमा टेवा पुर्‍याउन, नयाँ कृषि प्रविधिका विषयमा जानकारी गराउन, कोरियन सीप र प्रविधिलाई पालिकामा भित्र्याउन यसले मद्दत गर्ने नगर प्रमुख मङ्गलप्रसाद थारुले बताए । नेपाल कल्चर सेन्टर कोरियाका पदाधिकारीलाई नगरपालिकामा स्वागत गर्दै पालिकाको कृषि पेसाको समग्र अवस्थाको अवस्थाको विश्लेषण गर्दै नयाँ प्रविधि र सीपले कृषि क्षेत्रमा लागु गर्न सकिए कृषितर्फ आत्मनिर्भर हुन सकिने नगर उपप्रमुख चक्रपाणी अर्यालले बताए ।

 

कृषिसँगै संस्कृति संरक्षण गर्ने मुख्य उद्देश्य रहेको बताउँदै कोरियाको सिपलाई स्वदेशमा ल्याउने रहेको नेपाल कल्चर सेन्टर कोरियाका डाइरेक्टर हन क्यूहोले बताए । कृषिलाई यान्त्रीकरण गर्दै व्यवसायिकतर्फ उन्मुख हुनेगरी उत्पादकत्व वृद्धि गर्न सकिने उनको भनाई छ ।

 

छलफलको सहजीकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुकासाथै बेरोजगारी समस्या केही हदसम्म हट्ने स्पष्ट पारे । नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताका लागि अग्रसरता देखाएको बताउँदै कुनै कागजी प्रक्रियामा कमी नहुने बताए ।

 

पालिकाभित्रका ३० देखि ५५ वर्ष उमेर समूहका महिला–पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्ने योजना छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम मासिक तलब २ लाखसम्म रहेको बताइएको छ ।