close

कृषि र पशुपालनबाट समृद्धि भित्र्याउँदै इलाम नगरपालिका

कृषि र पशुपालनबाट समृद्धि भित्र्याउँदै इलाम नगरपालिका

Trulli
ADVERTISEMENT

इलाम- पूर्वकी ‘रानी’ उपनामले प्रख्यात इलाममा पर्यटन मात्र नभई कृषि र पशुपालनमा पनि उत्तिकै सम्भावना छ । स्थानीय तहका जनप्रतिनिधिको लगावकै कारण  इलाम नगरपालिका कृषि र पशुपालनमा समृद्ध बन्दै गएको छ । 

 

नगरपालिकाले कृषि र गैरकृषि उत्पादनलाई बजार अभाव नहुने ग्यारेन्टी लिएको छ । मोरङ र झापा इलामेली उत्पादनको बजार बन्न थालेसँगै कृषि र पशुपालन व्यवसायमा होमिनेको संख्या ह्वात्तै बढेको छ ।

 


‘इलामको सिलाम फाकफुके तोरी तेल झर्छ तुरुरु
दुःखीया जीवन सम्झेर ल्याउँदा मन रुन्छ धुरुरु’

 

इलाम नगरपालिकाका बूढापाकाले कुनै समय गाउँको उत्पादन बिक्री नहुने र जीवनस्तर पनि उकासिन नसकेको भन्दै यो विरह गीत गुनगुनाउँथे । तर, अहिले यो गीतसँगै किसानका दुःख हटेका छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले नगरमा समृद्धि ल्याउने अठोट लिएर अघि बढ्दा आठ ‘अ’ बाट चर्चित इलाम नगरपालिकाको कृषि र पशुपालन क्षेत्रमा थुप्रै परिवर्तन भएको छ । 

 

जनप्रतिनिधिकै योजनाले इलामको अर्गानिक चिया, अकबरे खुर्सानी र ओलन माग नगरपालिका बाहिरसमेत बढ्न थालेको छ । यहाँ उत्पादित अलैंची, अदुवा र अम्लिसो काठमाडौंदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको छ । यहाँको आलुले पनि उत्तिकै लोभ्याउँदा निर्वाहमुखी कृषि गर्दै आएका कृषक व्यावसायिक बनेका छन् । आन्तरिक पर्यटनको रोजाइमा सौन्दर्य मात्र नभई यहाँको उत्पादन पनि प्राथमिकतामा पर्ने गरेको छ । अग्ला–अग्ला पहाडी डाँडामा रहेको हरिया चिया बगानबाट उत्पादित चियाले व्यापार फस्टाएको छ । नयाँ जातका फलफूलका बिउ र बिरुवा वितरण गरेर कृषिमा होमिन नगरपालिकाले प्रोत्साहन गरिरहेको नगरपालिकाका कृषक युवराज गौतम बताउँछन् । 

 

अहिले नगरपालिकालाई किबीले पनि उत्तिकै प्रख्यात बनाएको छ । नगरपालिकाले किबी खेतीमै जोड दिन कृषकलाई ३ हजार बिरुवा वितरण गरेको छ । ओखर र कफीका बिरुवा पनि वितरण गरिएको छ । यीबाहेक पशु र मत्स्यपालनमा पनि नगरपालिकाले लगानी गर्दा व्यावसायिक पशुपालनतर्फ नगरबासी हौसिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गर्दा कृषकमा कृषिबाटै समृद्ध बन्न सकिन्छ भन्ने विश्वास पलाउँदै गएको नगरपालिकाको कृषि शाखा प्रमुख उपेन्द्र नेपालले जानकारी दिए ।

 

बाह्रैमास उत्पादन गर्न प्लास्टिक टनेलदेखि प्राविधिक परामर्शमा समेत नगरपालिकाले जोड दिएको छ ।  पहाडी जमिनमा ४० वटा पोखरी बनाएर माछापालन गर्न  सहयोग गरिएको छ । निर्वाहमुखी नभई व्यावसायिकमुखी पशुपालन गर्न प्रेरित गर्दै दूध उत्पादन बढाउन अनुदानमा गाईसमेत दिन थालिएको छ ।  नगरपालिकाले 


०७५/७६ मा ६० वटा गाई, ०७६/७७ मा वटा १ सय ६ वटा गाई, ०७७/७८ मा १ सय १० वटा गाई, ०७८/७९ मा १ सय १० वटा गाई अनुदानमा वितरण गरेको छ ।


नगरले चार वर्षे अवधिमा साढे चार सय किसानलाई गाई खरिदका लागि प्रतिकिसान २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । खुद्रा कृषि बजार स्थापनादेखि नगरपालिकाले दुई करोड लागतमा पशु हाटबजारसमेत सञ्चालन गरेको छ ।  दुग्ध क्षेत्रलाई औद्योगिक चरणमा प्रवेश गराएर सेतो सहरको रूपमा परिचित बनाउने लक्ष्य पूरा हुने क्रममा रहेको नगरप्रमुख महेश बस्नेत बताउँछन् । 

 

पशुपालनमा कृषक आकर्षित गर्न पशु बिमा कार्यक्रम लागू गरिएको छ । ८० प्रतिशत सरकारले अनुदान दिने व्यवस्था लागू गर्दा कृषक लाभान्वित भएका छन् । अहिले नगरमा फार्म दर्ता गरेर व्यावासयिक कृषि गर्नेको संख्या ४ सय ३६ पुगेको छ । उन्नत जातको घाँस वितरण, खोप लगाउने कार्यक्रम र बोयर जातका बोका वितरणले पनि पशुपालनमा नगर आत्मनिर्भर बन्ने क्रममा रहेको नगरपालिकाको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक  प्रकाश लुइँटेलले बताए ।

 

कृषि क्षेत्रको आधुुनिकीकरण गर्न केन्द्र तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा स्थानीय तहलाई अनुदान उपलब्ध गारएका छन् । नगरपालिकाले कृषि अनुसन्धान केन्द्र तथा कृषिसम्बन्धी अध्ययन गर्ने कलेज स्थापना गरेर पनि कृषिमा नागरिकको उपस्थिति बढाउँदै लगेको छ । जनप्रतिनिधिले कृषिमा लगानी बढाउँदै गर्दा इलामले कृषिबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा योगदान पु¥याउन सक्ने भएको छ ।