close

कृषि र पशुपालनमा अब्बल बन्दै सूर्योदय

कृषि र पशुपालनमा अब्बल बन्दै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम– इलाममा भौगोलिक बनावट तथा कृषि उद्यमका लागि सुहाउँदो हावापानी भएकाले यहाँका अधिकांश मानिस कृषि पेसामा आश्रित छन् । जीविकोपार्जन तथा आर्थिक क्रियाकलापका लागि कृषि उद्यममा सक्रिय यहाँका किसान वर्षौदेखि निर्वाहमुखी कृषि गर्दै आएका छन् । समृद्धिको आधार कृषि नै भए पनि ज्ञान अभावले प्रचुर सम्भावना बोकेर पनि कृषिबाट इलामले फाइदा लिन सकिरहेको थिएन । तर, जब साढे चार वर्षअघि स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए, त्यसबेलादेखि इलामले कृषिमा फड्को मार्‍यो । सूर्योदय नगरपालिकाले त वार्षिक बजेटको १० प्रतिशत लगानी कृषि र पशुपालन क्षेत्रमा खन्याएपछि कृषकको जीवनस्तर उकासिँदै गएको छ । 

 

पर्यटनमा मात्र नभई इलामको सूर्योदय नगरपालिका कृषिमा पनि चर्चित छ । नगरपालिकाको कुल क्षेत्रफलमध्ये साढे ४२ प्रतिशत कृषि क्षेत्रको रूपमा परिचित छ । सरकारी तथ्यांकअनुसार यहाँको १ सय १९ दशमलव ७७ वर्गकिलोमिटर क्षेत्रफल वन र चरण क्षेत्र छ । यही क्षेत्रबाट समृद्धि हासिल गर्ने सोच बनाएर जनप्रतिनिधिले आफ्नो योजना अघि सारेपछि नागरिकको जीवनस्तरमा परिवर्तन आयो । माटो सुहाउँदो खेती गर्न नसक्नु, भएका अधिकांश जमिन बाँझै छोड्नु र चिया मात्रै प्राथमिकतामा पर्दा खेतीयोग्य क्षेत्रबाट आम्दानी बटुल्न कृषक वञ्चित थिए । निर्वाहमुखी कृषिमै ध्यान दिँदा व्यावसायिक बन्नेतर्फ कोही अग्रसर देखिँदैन थिए । यिनै समस्या बुझेर नगरपालिकाले साढे चार वर्षमा विभिन्न योजना निर्माण ग र्‍यो । आफ्नो आवधिक योजनामै भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषि प्रवद्र्धन गर्ने लक्ष्य लिएर पालिकाले कृषकका लागि विभिन्न कार्यक्रम तय गरेको छ ।

 

नगरपालिकाले हालसम्म कृषि र पशुपालन क्षेत्रमा प्रांगारिक कृषिमा जोड दिन भकारो सुधार कार्यक्रम, उन्नत जातका गाई पाल्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान, खेती किसानीका लागि हाते ट्र्याक्टर तथा चापाकटर वितरण, सस्तो ब्याजदरमा ऋण, चियाको मूल्य निर्धारण र ब्रान्डिङमा सहयोग, माटो सुहाउँदो बाली कार्यक्रम, एक घर एक उन्नत माउ गाई, हरियो चियाको समर्थन मूल्य प्रतिकिलो ५० रुपैयाँ, दूध उत्पादन गर्ने किसानले भोगेको मिल्क होलिडे समस्या अन्त्य गर्न सफलता पाएको छ ।

 

नगरपालिकाले आव ०७४/७५ मा ६९ करोड, आव ०७५÷७६ मा ८८ करोड ५४ लाख, आव ०७६/७७ मा ९६ करोड ५७ लाख १२ हजार, आव ०७७/७८ मा १ अर्ब १७ करोड १० लाख ३८ हजार, आव ०७८/७९ मा १ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

 

आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले कृषकलाई कृषि टनेल  १७५ वटा, हाते ट्रयाक्टर ४२ वटा, २१ हजार केजी कृषि चुन, गाई ७६ वटा वितरण गरेको छ । नगरपालिकाले कृषकसँग छलफल गरेर उनीहरूका मागका आधारमा कृषि सामग्री वितरण गर्दै आएको नगरपालिकाका कृषि अधिकृत नारायण लम्साल र वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्मा बताउँछन् ।

 

नगरपालिकाको अनुदानपछि स्थानीय पूर्णमाया गिरी सन्तुष्ट छन् । नगरपालिकाले दिएको अनुदानले उनीजस्ता कयौँ कृषक अहिले व्यावसायिक बन्ने क्रममा छन् । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्दा उत्पादन बिक्री नै नहुने चिन्ताबाट धेरै कृषक मुक्त भएको स्थानीय पूर्णमाया गिरीको भनाइ छ ।

 

राष्ट्रिय कृषि नीति अनुसार राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिमाणको स्थानमा एउटै बालीको खेती गरी वस्तुको उत्पादन वृद्धि गरिने भन्ने उल्लेख छ । सोही नीतिलाई आधार मान्दै सूर्योदयले चियाको उत्पादन बढाउन हरियो चियाको समर्थन मुल्य प्रतिकिलो ५० रुपैयाँ पनि तोकिदिएको छ । यो निर्णयले सरकारको उत्पादन वृद्धि गर्ने योजनामा सहयोग पुगेको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

 

कृषि क्षेत्रमा लगानी बढाउनुमा नगरपालिकाको योजनाले ठूलो सहयोग पुर्‍याएको छ । दिगो विकासका लक्ष्य प्राप्ति गर्न तय गरेको ७ लक्ष्यको दोस्रो बुँदालाई पूरा गर्न कृषि क्षेत्र अब्बल सावित भएको छ । यसले समृद्धिको यात्रा तय गर्ने सरकारी लक्ष्यमा एउटा ढुंगा थप्ने काम गरेको छ ।