close

कृषि र पशुपालनबाट समृद्ध बन्दै चैनपुर

कृषि र पशुपालनबाट समृद्ध बन्दै चैनपुर

Trulli
ADVERTISEMENT

संखुवासभा– नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । संखुवासभाको चैनपुर नगरपालिकाले पाँच वर्षमा कृषिमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ । 
भौगोलिक हिसाबले चैनपुर नगरपालिकामा विविध हावापानी पाइन्छ । माटो सुहाउँदो खेती गर्न नगरपालिकाले कृषिमा कुल बजेटको २७ प्रतिशतसम्म लगानी गर्दै आएको छ । कृषिलाई उत्थान गर्न पकेट क्षेत्र घोषणा कार्यक्रम ल्याइएको छ । सोही कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर ४ लाई अलैँची पकेट क्षेत्र, वडा नम्बर ५ लाई सुन्तला पकेट क्षेत्र, वडा नम्बर ८ लाई उखु पकेट क्षेत्र घोषणा गरेको छ ।


नगरलाई फलफूल र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । यसका लागि नगरपालिकाले कृषकलाई नगद तथा बिउबिजन उपलब्ध गराएर प्रोत्साहन गर्दै आएको नपरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।

 

कृषकले उत्पादन गरेको उपजलाई सहज ढंगले संकलन गर्न र बिक्री वितरण गरेर कृषकलाई सहयोग पु¥याउने काम नगरपालिकाले गरेको पाइन्छ । सोहीअनुसार नगरपालिकाले कृषि उत्थानका विभिन्न योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल बताउँछन् ।

 

कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख टंकराज कटुवालको भनाइ छ ।

 

किसानलाई उखु पेल्ने औजार तथा जमिन जोत्न मिनीटिलर अनुदान तथा लागत साझेदारीमा उपलब्ध गराउने गरिएको छ । यसले किसानको समय र लागत बचत भएको स्थानीय रोशन श्रेष्ठले बताए ।


पशुपालनको राम्रो सम्भावना देखेरै नगरपालिकाले गरेको लगानीले अहिले खसीबोका नगरबाहिर निर्यात गर्न सकिने अवस्था सिर्जना भएको छ । दूधमा आत्मनिर्भर बनाउन १ नम्बर वडाबाहेक अन्य १० वडामा गोठ सुधारका लागि अनुदान दिने गरिएको छ । हालसम्म नगरले २५ वटा समूह बनाएर गोठ सुधारमा अनुदान दिएको छ । पहिलो वर्ष ५० हजार अनुदान दिइएकामा अहिले अनुदान रकम २५ हजारमा झारिएको छ । बोका वितरण, मासु पसल सुधारका लागि सहयोग गरिँदा नगरमा धेरै परिवर्तन आएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख सुरेन्द्र कटवालको दाबी छ ।


सुधारिएको गोठका कारण पशुले दिने उत्पादन राम्रो हुन्छ । यस्तो गोठमा घाँस, परालको पूरै सदुपयोग हुने भएकाले किसानको लागत बचत हुन्छ । यस्तो सहयोगका लागि सिंगो नगरपालिका साथै वडाले पनि काम गरिरहेको वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर तामाङले बताए ।

 

नगरभित्र व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दो छ । यसरी कृषक समूह वा संख्या बढ्नुमा नगरपालिकाको अनुदान कार्यक्रम तथा प्राविधिक सहयोग र तालिम महत्वपूर्ण बन्न पुगेको छ । कृषक दुर्गा कटुवालको अनुभवमा किसानलाई उन्नत जातका बोका किन्न गाह्रो हुने तर नगरको सहयोगबाट साथ पाउँदा लाभ मिलिरहेको स्थानीय दुर्गा कटवाल सुनाउँछन् ।

 

नगरपालिकामा दिगो विकासका लक्ष्य प्राप्ति गर्न तय गरेको ७ लक्ष्यको दोस्रो बुँदालाई पूरा गर्न कृषि क्षेत्र अब्बल सावित भएको छ । यसले समृद्धिको यात्रा तय गर्ने सरकारी लक्ष्यमा ठूलो सहयोग पुर्‍याएको छ ।