close

कृषिमा लगानी बढाएपछि आत्मनिर्भर हुने लयमा कानेपोखरी

कृषिमा लगानी बढाएपछि आत्मनिर्भर हुने लयमा कानेपोखरी

Trulli
ADVERTISEMENT

मोरङ–मोरङको कानेपोखरी गाउँपालिकामा ४ हजार ८ सय २५ हेक्टर कृषियोग्य जमिन छ । ७५ प्रतिशत जमिनमा खेतीपाती हुने गर्छ । यहाँका नागरिकको मुख्य पेसा कृषि कर्म भएकाले जनप्रतिनिधिले निर्वाचित भएदेखि नै पालिकालाई आत्मनिर्भर बनाउने कृषिमा बजेट बढाए । हालसम्म २ करोड रुपैयाँ बढी बजेट कृषिमा लगानी गरिएपछि अहिले कानेपोखरीबासीको आर्थिक अवस्था सबल बन्दै गएको छ । 

 

कानेपोखरी गाउँपालिकाबासीको मुख्य पेसा नै कृषि हो । कृषि क्षेत्रको विकासका लागि सरकारले ठूलो बजेट खन्याए पनि कृषि प्रणाली व्यावसायिक बन्न सकेको थिएन । निर्वाहमुखी खेती प्रणालीका कारण कृषिबाट हातमुख जोड्नै मुस्किल हुने गरेको थियो । यही समस्यालाई निराकरण गर्ने अठोट लिएर जनप्रतिनिधिले कानेपोखरीलाई कृषि हब बनाउने योजना अघि सारे ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न बालीका पकेट क्षेत्र घोषणा गरियो । उब्जनीका लागि नागरिकले सिँचाइ सुविधा पनि पाएका छन् । व्यावसायिक कृषिमा आबद्ध गराउन किसानलाई तालिमसमेत दिइएको छ । उब्जनी बढाउन बिउ, विषादी, प्रविधि र अनुदान उपलब्ध गराउँदा थुप्रै किसान लाभान्वित भएको पालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक संगीता कार्कीले बताइन् ।

 

०७४ को सार्वजनिक विवरणअनुसार गाउँपालिकाको ७० प्रतिशत क्षेत्रफलमा धान उत्पादन हुन्छ । १० प्रतिशतमा मकै र ५ प्रतिशतमा गहुँ उत्पादन हुन्छ । वडा नम्बर १ को १ प्रतिशत क्षेत्रफलबाट सूर्यमुखी र तोरी उत्पादन हुने भएकाले गाउँपालिकाले किसानलाई तोरी मिलसमेत अनुदानमा वितरण गर्दै आएको छ । गाउँपालिकाले कृषि क्षेत्रका लागि कुल २ करोड बढी रकम निम्नानुसारको आर्थिक वर्षमा छुट्याएर काम गरेको छ । 

 

पालिकाले आव ०७४/७५मा १२ लाख ५७ हजार, आव ०७५/७६ मा ४४ लाख ५३ हजार, आव ०७६/७७ मा ५१ लाख ३३ हजार ४ सय २०, आव ०७७/७८ मा ८२ लाख २० हजार, आव ०७८/७९ मा ६१ लाख ५५ हजार रुपैयाँ कृषिलाई छुट्याएको छ ।

 

यी बजेटलाई विभिन्न योजनाअनुसार खर्च गरिएको छ । सिँचाइ सुविधा, चिस्याङ खोलाको नहर डिप बोरिङ गर्ने र सेलो पम्पलगायतका सेवा पनि गाउँपालिकाले दिएको छ । च्याउ खेतीमा अनुदान दिने योजनाले किसानमा ऊर्जा थपिएको छ । कुलो बनाउनदेखि बाली लगाउनसम्म जनप्रतिनिधिले सहयोग गर्दा सन्तुष्ट रहेको वडा नम्बर ७ का किसान कुवेरप्रसाद दाहाल सुनाउँछन् ।

 

मौरीपालन व्यवसायबाट समेत किसानले आम्दानी बटुलेका छन् । पालिकाले उत्पादनअनुसार वडालाई पकेट क्षेत्र वर्गीकरण गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा नम्बर १ मा तोरी ब्लक, मौरीपालन र च्याउ खेती कार्यक्रम लागू गरिएको छ । योजनाअनुसार प्राप्त सफलता र किसानले पछ्याएको समृद्धिको बाटोले सन्तुष्ट हुने अवस्था रहेको वडा नम्बर १ का वडा सदस्य काजिमान सिंह भण्डारीको भनाइ छ ।

 

गाउँपालिकाबाट किसानलाई बिउबिजन, परामर्श, उत्पादन बिक्री वितरणका लागि सहकारीमार्फत सहयोग हुने गरेको छ । खेतीपाती गर्न सजिलो बनाउन गाउँपालिकाले विभिन्न कृषक समूह गठन गरेर डिप बोरिङ वितरण गरेको छ । अर्गानिक खेती उब्जनीमा यसले टेवा पु-याएको छ । कृषिबाटै एकल महिला, असहाय र विपन्न समुदायको आर्थिक स्थिति उकास्ने काम जनप्रतिनिधिले गरेका छन् । यन्त्रीकरणको प्रयोगमा जोड दिन हाते ट्रयाक्टर, मकै छोडाउने मेसिनलगायत उपकरण सहयोग गरेको वडा नम्बर ५ का किसान बिहारीलाल चौधरीले बताए ।

 

गाउँपालिकाको उर्बर माटोका कारण कृषि उत्पादन निकै राम्रो छ । अन्नबाली, सागसब्जी र फलफूल उत्पादनको सम्भावनालाई बुझेकै कारण जनप्रतिनिधिले कृषिमा लगानी गरेर नागरिकको जीवनस्तर उकास्न सफल भएका हुन् । अहिले स्थानीय मागलाई पूरा गर्न किसान सक्षम भइसकेका छन् ।