close

बिर्तामोडका कृषकलाई सिँचाइका लागि २० लाख

बिर्तामोडका कृषकलाई सिँचाइका लागि २० लाख

Trulli
ADVERTISEMENT

झापा । बिर्तामोड नगरपालिकाका कृषकलाई सिँचाइका लागि आज रकम प्रदान गरिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५० कृषकलाई स्यालो ट्युबेल जडान गर्न ४० हजारका दरले २० लाख प्रदान गरिएको हो । साना सिँचाइ कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकलाई रकम हस्तान्तरण गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए । 

सहारा नेपाल साकोससँगको सहकार्यमा तीन वर्षयता १५० वटा स्यालो ट्युबेल वितरण गरिएको उनले बताए । नगरपालिकाले पाँच वर्षको अवधिका ६३७ वटा स्यालो ट्युबेल वितरण गरेको छ । चालु आर्थिक वर्षमा मात्रै नगरबाट ६७ र सहारा नेपालसँगको साझेदारीमा ५० वटा स्यालो ट्युबेल वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए । वितरित स्यालो ट्युबेलबाट करिब दुई हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।

स्यालो ट्युबेलको रकम पाउनेमा बिर्तामोड नगरपालिका–२ का ६, ४ का एक, ६ का दुई, ७ का नौ, ८ का छ, ९ का १५ र वडा नं १० का ११ जना कृषक रहेका छन् । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपंछी र शिक्षाको क्षेत्रमा नगरपालिकासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।