close

जनप्रतिनिधिको टाउको दुखाइ बन्दै छाडा चौपाया, पालिकाको गौशालामा व्यक्तिको राज

जनप्रतिनिधिको टाउको दुखाइ बन्दै छाडा चौपाया, पालिकाको गौशालामा व्यक्तिको राज

Trulli
ADVERTISEMENT

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले छाडा चौपाया न्यूनीकरणका निम्ति करिब आधा करोड लगानीमा निर्माण गरेको गौशाला अहिले बाँझो बनेको छ। निर्माण सम्झौता भएको केही समयमै ठेकेदार सम्पर्कविहीन भएपछि गौशाला नगरपालिकाका लागि घाँडो झै भएको छ। त्यतिमात्र होइन, भीमदत्त नगरपालिकाले गौशाला निर्माण गर्न लिएको जग्गाको भाडासमेत तिरिरहनु परेको छ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले छाडा चौपायाको समस्या विकराल बनेपछि त्यसको न्यूनीकरणका लागि जग्गा भाडामा लिएर गौशाला निर्माण गर्‍यो । निर्माणपछि गौशाला सञ्चालनका लागि ठेक्का समेत दिइयो। ठेक्का सम्झौता लगत्तै सम्बन्धित व्यक्ति नै फरार भएपछि अहिले झन्डै आधा करोडमा निर्माण गरिएका संरचना प्रयोगविहीन र लथालिङ्ग अवस्थामा छन्। उता छाडा चौपायाको समस्या भने ज्युँको त्युँ छ। त्यतिमात्रै नभई नगरपालिकाले वार्षिक डेढ लाख रुपैयाँभन्दा बढी रकम बाँझो गौशाला स्थलको जग्गा भाडा तिर्दै आएको छ।

भीमदत्त नगरपालिका– १९ बागफाँटामा २०७५ सालमा गौशाला निर्माण गरिएको हो। आधा दर्जनभन्दा धेरै स्थानीय व्यक्तिको ८ बिगाहा जग्गा भाडामा लिएर ४८ लाख रुपैयाँको लागतमा गौशाला निर्माण गरिएको भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिसिंह धामीले जानकारी दिएका छन्।

‘छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यले बागफाँटामा गौशाला निर्माण गरिएको हो। सोही वर्ष मंसिरमा निजी क्षेत्रलाई खुला प्रतिस्पर्धाका आधारमा ठेक्का दिने काम पनि भयो,’ धामीले जानकारी दिए।

झापा नमुना गैरिगाउँ भीनपा– १९ को नाममा दर्ता फर्मबाट जङ्गबहादुर विकले गौशालाको ठेक्का पाएका थिए। ठेक्का बापत विकले नगरपालिकालाई वार्षिक एक लाख एघार हजार एक सय ११ रुपैयाँ दिने सम्झौता भएको थियो। ठेक्का लिएको केही महिना पछि ठेकेदार विक सम्पर्कविहीन भए। अन्यत्रबाट छाडा चौपाया गौशालामा लग्दा स्थानीयबाट असहयोग हुन थालेपछि ठेकेदारले काम छोडेको बताइन्छ।

‘स्थानीयले काम गर्न दिएनन्, बाटोमा अवरोध गरे,’ गौशाला सञ्चालन नहुनु र ठेकेदारले काम छाड्नुका पछाडिको कारण औँल्याउँदै नगरपालिकाका प्रशासकीय अधिकृत धामीले बताए, ‘यहाँ गाईगोरू संकलन गरी अन्य जिल्लामा लग्ने ठेकेदारको योजना थियो। पटक–पटक अवरोध सिर्जना भएपछि छाडेर गए।’

बागफाँटाको चौधारा नदी किनारमा रहेको नन्दलाल चटौत, श्रीराम चटौत लगायतका स्थानीयको ८ बिगाहा जग्गा नगरपालिकाले भाडामा लिएको हो। वार्षिक प्रति बिगाहा २० हजार रुपैयाँ भाडा तिर्ने सम्झौतामा गौशाला, घाँस/चरन लगायतका प्रयोजनका लागि भाडामा लिइएको थियो। यस बापत नगरपालिकाले बर्सेनि १ लाख ६० हजार भाडा तिर्दै आएको छ। चार वर्षको अवधिमा नगरपालिकाले ‘बाँझो गौशाला’को भाडा मात्रै ६ लाख ४० हजार जग्गाधनीलाई तिरिसकेको छ।

तीन/चार महिनामै ठेकेदार भागेपछि नगरपालिका कार्यसमितिले गौशालाको ठेक्का सम्झौता भंग गर्‍यो। नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले भन्छन्– ‘गौशालाको सम्झौता गर्ने पक्ष नै सम्पर्कविहीन भएपछि सम्झौता भंग गरियो। फेरि सञ्चालनका लागि पटक–पटक सूचना प्रकाशित गरेपनि कोही आएनन्। जसले गर्दा गौशाला निर्माणको उद्देश्य पूरा हुन सकेको छैन। अहिले बाँझो अवस्थामा रहेको छ।’

करिब ५ सय छाडा चौपाया व्यवस्थापन गर्ने क्षमता रहेको गौशाला अहिले सुनसान छ। सञ्चालनमा आउँदा एक सय बढी चौपाया गौशाला परिसरमा रहेको स्थानीय बताउँछन्। त्यहाँ रहेका गाई ब्याउने हुँदा कतिले लगे पनि । त्यो क्रम समेत अहिले बन्द भएपछि गौशाला सुनसान छ।

गौशाला क्षेत्रमा फलामका पाइपमाथि जस्ताको छानाले छाएर गोठ, त्यसभित्र चौपाया बाँध्ने र आहारा खुवाउने व्यवस्था, चरन र घाँसका लागि खुला ठाउँ, पानीका लागि बोरिङ र हेरचाह गर्नेका लागि बस्ने घर निर्माण गरिएको थियो। अहिले सबै थोक जीर्ण बन्दै गएका छन्। गौशाला छेउको बोरिङ पनि चल्दैन।

गौशालाको जमिन मौखिकमै भोगचलन

ठेकेदारसँग सम्झौता भंग भएपछि नगरपालिकाले पुनः सूचना आह्वान गर्दा पनि कसैले ठेक्का लिएनन्। करिब दुई वर्ष यता भने भीमदत्त नगरपालिका– २ का नीरज धामीले गौशालाको जमिन भोगचलन गर्दै आएका छन्। धामीले पारिश्रमिकमा एक जना पाले राखेर गौशालाको जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले अहिले बोडी, करेला लगायतका बर्खे तरकारी लगाएका छन्।

मुक्त हलिया स्थानीय दीपेन्द्र दमाइलाई मासिक तलब दिएर धामीले गौशाला र तरकारीबारीको हेरचाह गर्न राखेका हुन्। करिब ८ महिनादेखि काम गरिरहेका दमाईले भने– ‘सुरूमा गाईगोरू थिए। ब्याउँने भएपछि वरपरका स्थानीय आएर लग्न थाले। केही बुढो भएर मरे। केही जंगलका बाघ चितुवाले खाए।’ गौशाला परिसरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको छ।

उनका अनुसार आफू आउँदा १० वटा र अहिले ३ वटा गाई मात्रै गौशालामा छन्। ती पनि बाहिर जाने आउने गर्छन्। गौशाला नजिकै नदी भएकाले पानी पिउन सजिलो होला भनेर खुला छोड्ने गरिएको दमाईले जानकारी गराए। नगरपालिकाले भाडा तिर्दै आएको जमिनमा फल्ने तरकारी र अन्य उत्पादन सदरमुकाम महेन्द्रनगर बजार र अन्यत्र बिक्री गर्ने गरिन्छ। धामीले त्यहाँबाट आम्दानी लिने गरेको भए पनि नगरपालिकासँग कुनै आर्थिक कारोबार गर्ने गरेका छैनन्।

‘बेवारिसे अवस्थामा थियो। नगरपालिकाका मेयरले मौखिक रूपमा भनेपछि हेरचाह गरिरहेको छु,’ यसअघिका मेयर सुरेन्द्र विष्टले मौखिक रूपमा आफूलाई गौशालाको जमिन भोगचलन गर्ने अनुमति दिएको दाबी गर्दै धामीले भने, ‘दुई/तीन बिगाहामा तरकारी खेती गरेको छु। हेरचाह र संरक्षण गरिदिन भनेका हुन्।’ यसबापत आफूले नगरपालिकालाई केही पनि नदिएको उनको भनाइ छ।

बागफाँटाको गौशाला बाँझो भए पनि भीमदत्तकै वडा नम्बर ९ ब्रह्मदेवमा नगरपालिकाले नै निर्माण गरेको गौशाला भने सञ्चालनमा छ। २६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको गौशाला स्थानीयले समितिमार्फत सञ्चालन गरिरहेको नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले जानकारी दिए।

बागफाँटाको गौशाला निर्माणको मूल उद्देश्य पूरा हुन नसकेको र त्यहाँ रहेका संरचना के गर्ने भन्ने बारे अबको कार्यपालिकाले निर्णय गर्ने समेत उनले बताए ।

उता छाडा चौपाया व्यवस्थापन अहिलेको ठुलो चुनौतीका रूपमा रहेकाले यसको दिगो र वैज्ञानिक व्यवस्थापन आवश्यक भएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्का बताउँछन्।

 ‘अहिलेसम्म छाडा चौपायालाई घेराबार गरी राख्ने काम मात्रै भयो। यसमा खर्च पनि धेरै भएको छ तर  पनि समस्या ज्युँका त्युँ छ। गौशालामा राखेर पालनपोषण गरेर मात्रै यस समस्याको समाधान हुन्छ जस्तो लाग्दैन। यसलाई निरन्तरता दिनु उचित देखिँदैन,’ भीमदत्त नगरपालिकाका प्रवक्ता खडका भन्छन्– ‘अब दिगो र वैज्ञानिक व्यवस्थापनतर्फ लाग्नु जरुरी छ। छाडा चौपाया व्यवस्थापन सँगसँगै मल र ग्याँस प्रयोगमा ल्याउन सकिन्छ। त्यसका लागि विज्ञहरूसँग छलफल गर्छौँ। प्रभावकारी पनि होस् र त्यसबाट ‘आउट पुट’ पनि ल्याउने योजना बनाउँछौँ।'

फाइदा लिनसम्म लिएपछि बुढेसकालमा हेरचार गर्न गाह्रो मानेर स्थानीयले आफ्ना गाईगोरु लावारिसरुपमा छोड्दै जाने प्रवृत्तिका कारण समस्या झन्झन् विकराल बन्दै आएको छ। यसअघिको कार्यपालिकाले भीमदत्तमा गाईगोरू सडकमा छोड्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने नियम बनाएको थियो। छाडा चौपाया नियमन कार्य विधि लागु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन।

नगरपालिकाले घरमा पालेका गाईगोरूको कानमा ट्याग लगाउने र त्यस्ता गाईगोरू सडकमा छाडा रूपमा छोडिएको पाइएमा पशुधनीलाई कानुनी कारबाही गर्ने नियम बनाएको थियो। त्यति बेला करिब १० हजारभन्दा बढी घरपालुवा गाईगोरूको कानमा ट्याग लगाइएको थियो। करिब चार वर्ष जनशक्ति परिचालन गरी नगरपालिकाका १९ वटै वडामा ट्याग लगाउने काम भएको थियो। जसमा ७ लाख रुपैयाँ जति खर्च भएको नगरपालिकाले जनाएको छ।

जनप्रतिनिधिको टाउको दुखाइ

कञ्चनपुर जिल्लामा भीमदत्त मात्रै नभई नौवटै पालिकामा छाडा चौपायाको आतंक नै छ। विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका नवनिर्वाचित जनप्रतिनिधिका लागि यही विषय अहिले टाउको दुखाइको बनेको छ।

जिल्लाका प्राय: स्थानीय तहले आफ्नो वार्षिक बजेटबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि अहिलेसम्म करोडौँ रकम खर्च गरिसकेका छन् तर समस्या भने यथावत छ। पूर्वपश्चिम राजमार्ग, बजार तथा मुख्य सडकहरूमा जताततै छाडा पशु चौपायाको बथान देखिन्छ। छाडा पशु चौपायाका कारण किसानको बालीनाली नोक्सानी सँगसँगै समय–समयमा सवारी दुर्घटना समेत हुने गरेका छन्।

-आइएनएस