close

आज ७३औं हलो क्रान्ति दिवस : हराउँदै हलो

आज ७३औं हलो क्रान्ति दिवस : हराउँदै हलो

Trulli
ADVERTISEMENT

काठमाडौं । २००६ साल साउन ११ गते लमजुङका पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । 

हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई ११ साउन २००७ मा पक्राउ गरी जेल हालेको थियो । त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउनसमेत रोक लागेको थियो । 

उनीहरूले क्रान्तिको सुरुवात गरेका आज ७३ वर्ग पुगेको छ । लमजुङको दुराडाँडामा सुरु भएको हलो क्रान्तिपछि २००६ पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखाका साथै २००८ मा स्याङ्जामा हलो जोत्ने अभियान सुरु भयो । लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । 

कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणका कारण हलोको प्रयोग हुन छाडेको छ । 

नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनिटेलर प्रयोग गर्न थालेका छन् । समथर भू–भागमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ । ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गरा हुने भएकाले केही स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको स्थानीय किसान बताउँछन् ।

खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसँगै ती उपकरण सजिलै लैजान नसकिने ठाउँमा खेतबारी बाँझै रहन थालेको किसान बताउँछन् । पछिल्ला वर्षमा त स्थानीय जातका गाई पाल्न छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ ।

पछिल्लो समयमा बढ्दै गएको ट्याक्टर एवं मिनि टेलरको प्रयोग किसान लागि बरदान सावित भएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया बताउँछन् । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको जनाउँदै उनले विगत सात वर्ष यता यी उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको बताए । 

गोरुका लागि घाँस काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्या समाधान भएको किसान बताउँछन् । छोटो समयमा धेरै काम गर्न सकिने भएको पनि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो ।