close

गाउँपालिकाले दियो बाँदर धपाउने उपकरण

गाउँपालिकाले दियो बाँदर धपाउने उपकरण

Trulli
ADVERTISEMENT

खोटाङ । खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउने उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो । 

किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङबजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङबजारका दश-दश किसानलाई बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा रु दुई हजार ८०० का दरले खरिद गरेर बाँदर धपाउने उपकरण ल्याइएको वडाध्यक्ष शिव फुयाँलले बताए । खोटाङबजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका दश टोल सुधार समितिलाई उपकरण प्रदान गरिएको छ ।

किसानलाई १०० पटक पडकाउन पुग्ने कच्चा पदार्थसहित उपकरण प्रदान गरिएको हो । बन्दुक जस्तै आवाज आउने उपकरण सम्बन्धित वडा कार्यालयले खरिद गरेर किसानलाई निःशुल्क वितरण गरेको हो ।

मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन् ।  

यसअघि २०७५ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔँ’ अभियान सञ्चालन गरिएको थियो ।

बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् ।