close

कोदोको प्रवर्द्धन गर्ने प्रयास

कोदोको प्रवर्द्धन गर्ने प्रयास

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवर्द्धन सुरु गरेका छन् ।

विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा कोदोको प्रवर्द्धन सुरु गरिएको हो ।

कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन्  । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका अनुसार मकवानपुर विगतमा अत्याधिक मात्रमा कोदो उत्पादन हुने जिल्ला हो । फेरि पनि कोदोको उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ ।

‘विदेशबाट कोदो आयात हुने क्रमलाई रोक्न सक्नुपर्छ । कोदोका विभिन्न परिकार तथा मदिरासमेत उत्पादन गरेर ब्राण्डिङ गर्नुपर्छ’ उनले बताए ।

हाल जिल्लाका किसानहरु स्वतः कोदो प्रवर्द्धनमा लागेका छन् ।  पदमपोखरी, भीमफेदी तथा हटिया हर्नामाडी, हाँडीखोलालगायतका क्षेत्रका किसानले कोदो रोप्न सुरु गरिएको छ । कोदोको प्रवर्द्धन गरेर यसका परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने राष्ट्रिय किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलको भनाइ छ ।

कोदो आयात गर्नुपर्ने अवस्था आउनु कृषिप्रधान मुलुकका लागि दुर्भाग्यपूर्ण रहेकाले त्यो अवस्थाको अन्त्य गर्न आफू कोदो रोप्न अग्रसर भएको उहाँले बताए । 

विदेशी मदिरालाई हतोत्साही गर्न कोदोको मदिरालाई  वैधानिक तरिकाले उत्पादन गर्नुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा रैथाने बालीको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने बताए ।

रैथानेबालीले यहाँको जनजीविकासँग विशेष महत्व राख्ने उहाँको भनाइ छ । कोदो देशका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, समुदायको जीवनपद्धतिसँग जोडिएको अन्न भएकाले पनि यसको संरक्षण गर्दै उत्पादन बढाउनु पर्ने उहाँले बताए । 

 जिल्लाको  पदमपोखरी, हटिया, हर्नामाडी, गढी, राईगाउँ, फापरबारी, भीमफेदी, पालुङजस्ता स्थानमा हजारौँ मुरी कोदो उत्पादन भएर निर्यात समेत हुने गथ्र्यो । अन्य नगदेबाली लगाउन थालेपछि कोदो खेती लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपालमा लोप हुने अवस्था आए पनि विदेशबाट भने प्रशस्त मात्रामा आयात हुन थालेपछि नेपालमै उत्पादन बढाउने उद्देश्यले कोदोको खेती सुरु गरिएको भीमफेदीका किसान दीपक पुडासैनी बताउँछन् । 

‘अहिले कोदो खेतीको पुन सुरु गरेका छौँ आगामी दिनमा यसलाई वृद्धि गर्दै जाने लक्ष्य छ’ उनले भने ।