close

भीरकोटमा बङ्गुर पकेट क्षेत्र घोषणा

भीरकोटमा बङ्गुर पकेट क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

स्याङ्जा ।  भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद‍्को कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको एक करोड ४० लाख र नगरपालिकाबाट ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । पालिकाका नौवटै वडामा वडावासीको माग तथा त्यहाँको सम्भावनाका आधारमा बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको हो । 

बङ्गुर, बाख्रा तथा सुन्तला पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम पनि २५ परिवार आवद्ध भएको समूह आवश्यक पर्छ । नगरपालिकाले बङ्गुर पकेट कार्यक्रमकालागि २५ परिवार आवद्ध रहेको दुई  समूह, बाख्राका लागि २५ परिवार आबद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आबद्ध रहेको दुई समूहलाई वडा/वडामा छनोट गर्न लागेको उनले बताए । 

बङ्गुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बङ्गुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिने छ । सुन्तला पकेटकालागि सुन्तलाका बिरुवा, कीटनाशक औषधि, मलखाद, सिँचाइका उपकरण, टिप्ने, काट्ने औजार तथा तालिम दिइने उहाँले बताउनुभयो ।

भीरकोट नगरपालिकाका वडा नं १, २, ५, ६, ८ र ९ मा बङ्गुर पकेट, २, ३, ४, ६, ७, ८ र ९ मा बाख्रा पकेट तथा वडा नं १ र ७ मा सुन्तला पकेट निर्धारण गरी कार्य थालिएको हो ।