close

सतुवाले बजार नपाएपछि फुङ्लिङ नगरका किसान निराश

सतुवाले बजार नपाएपछि फुङ्लिङ नगरका किसान निराश

Trulli
ADVERTISEMENT

काठमाडौं । फुङ्लिङ नगरपालिका–१० का पूर्णहाङ लिम्बू अहिले निराश छन् । उनले विगत ६ वर्षदेखि व्यावसायिक रुपमा सतुवाको खेती गर्दै आएका छन् । तर, पछिल्लो समयमा सतुवाले बजार नपाउँदा लिम्बू निराश बनेका छन् । 

विगत पाँच वर्षअगाडि यो प्रतिकिलो  २० हजारमा खरिद बिक्री भएको थियो । सतुवाको बजार मूल्य राम्रो भएपछि पूर्णबहादुर लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवा खेतीपाती गर्ने जग्गामा पनि व्यावसायिकरुपमै खेती गर्न थाले । पूर्णबहादुरले सतुवाको बीउ जङ्गलबाट नै ल्याएर रोपे । 

विस्तरै सतुवाको बेर्ना उमार्न एक रोपनी जग्गामा टनेल लगाए । अहिले टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आएका छन् । प्रतिबोट १५ देखि ३० सम्म सतुवाको बेर्ना बिक्री हुन्छ । 

सात वर्षअगाडि उत्साहित हुँदै लगाएको सतुवाको बेर्ना फल बिक्री गर्ने समय भएको छ । तर, सतुवाको बोटबाट फल निकालेको छैन । लिम्बूले भने, ‘कहिले राम्रो बजार मूल्य आउँछ, त्यसबेला खनेर बिक्री गरौँला ।’

एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि त्यही दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जतिखेर पनि खन्न सकिने लिम्बूले बताए । 

उनले भने, ‘एकपटक रोपिएको दाना कुहिँदैन, प्रत्येक वर्ष आँख्ला सर्दै जान्छ ।’ उनले सात वर्षअगाडि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म रहेको उनले बताए । तर, बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताए । 

चार वर्षअगाडि वैदेशिक रोजगारीमा जान तम्सिँदै गरेका फक्ताङ्लुङ गाउँपालिका–६ का सन्तोष राई सतुवाको बजार मूल्यले वैदेशिक रोजगारी जान रोकियो । वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च सतुवा खेतीमा लगाउने सोच बताए ।  खेती विस्तार गर्नतिर लागे । राईले सुरुवात  गर्दा जङ्गलबाटै सतुवाको बेर्ना ल्याएर व्यावसायिक खेती सुरु गरे । 

खेती गर्न सुरु गरेसँगै बजार ह्वात्तै खस्क्यो । बजार नपाउँँदा अहिले राई निरास हुनुहुन्छ । तैपनि केही आशा छ । सात वर्ष अगाडि सतुवाले राम्रो बजार मूल्य पाउँदा उत्साहित भएर व्यावसायिक खेती गर्ने लिम्बू र राई एक प्रतिनिधि मात्र हुन् । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार २०६६/७७ मा २ हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको छ । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सतुवाको बजार चीन भएकाले कोभिड–१९ का कारणले नाकाबन्दी भएसँगै बजार शून्य भएको फुङ्लिङ नगरपालिका–५ का व्यापारी सविन बानियाँले बताए । उनले भने, ‘सतुवा चीनका व्यापारीले लिने गर्छन् । कोभिड–१९ का कारण बन्द भएको नाका खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा निर्यात हुन सकेको छैन ।’

ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ताला नाका  हुँदै चीनको रियु बजार निर्यात हुँदै आएको थियो । सो नाका चार वर्षदेखि नाका बन्द छ । नाका नखुल्दा सतुवाको कारोबार शून्य भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । 

स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोग निको पार्छ । स्थानीयले पेट दुखेको, पखाला चल्दा, बान्ता हुँदा, परम्परागतरूपमा पेटको जुका र कीरा मार्न बच्चालाई खुवाउने गर्छन् । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने, अपच हुने, कमजोरी र रिँगटा लाग्ने बिरामीका लागि पनि सतुवा उपयोगी मानिन्छ ।