close

व्यावसायिक तरकारी खेतीबाट आम्दानी गर्दै किसान

व्यावसायिक तरकारी खेतीबाट आम्दानी गर्दै किसान

Trulli
ADVERTISEMENT

दिपायल । दिपायल–डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरकारी खेतीमा संलग्न छन् । २२ वर्षदेखि उनले व्यावसायिक रूपमा तरकारी खेतीबाट आम्दानी गरिरहेका छन् ।

बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिकरूपमा रु तीन लाखदेखि चार लाख आम्दानी गर्दै आएका छन् । “परम्परागत तरिकाले विगतमा तरकारी खेती गर्दा मुस्किलले वर्षमा रु १० हजारदेखि १५ हजार मात्रै आम्दानी हुन्थ्यो”, उनले भने, “आधुनिक तरिकाले तरकारी खेती गरी बढी उत्पादन लिनका लागि तालिम पाएँ । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थालेँ । उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा दुई गुणाले बढेको छ  ।” साथै उहाँले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेटलगायतका  सामग्री पनि बनाएको बताए । 

उनले सुदूरपश्चिम प्रदेश सरकार र कृषि ज्ञान केन्द्र डोटी जिल्लाबाट छनोट भई उत्कृष्ट भीमदत्त कृषक पुरस्कार पनि प्राप्त गरेका थिए । 

मुला खेतीबाट सुरुवात

तरकारी खेतीमै संलग्न डोटी जोरायल गाउँपालिका–२ का दिलबहादुर बैजालिमगरको  वार्षिक कमाइ रु सात लाख जति हुने गरेको छ । तरकारी बजारमा बेचेर उनले आम्दानी गर्दै आएका छन् । “व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हुँदै गएको छ । तरकारी खेतीबाट आएको पैसाले घर खर्चसँगै छोराछोरीको खर्च चलाउन सहज भएको छ”, उनले भने ।   

पहिलो वर्षमै दुई रोपनी जग्गाबाट मुला खेती सुरु गर्दा राम्रोसँग उत्पादन हुन थालेपछि यसलाई व्यावसायिकरूपमा लैजानुपर्छ भन्ने आफूमा आँट आएको उनले बताए । उनले भने, “त्यही दुई रोपनी जग्गामा व्यावसायिक रूपमा मुला खेती सुरु भएको तरकारी खेती अहिले सिद्धेश्वर कृषि तथा पशुपन्छी फर्म दर्ता गरी  पाँच वर्षका लागि कुमारी बैंकबाट रु सात लाख कर्जा लिई १८ रोपनी जग्गामा गरेको छु । अहिले बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छु ।”

दिलबहादुरले अझै व्यवसायलाई विस्तार गर्न चाहेको बताए । बारीमा अहिले टमाटर, खुर्सानी, घिरौँला, काँक्रा, बन्दागोभी, आलु फलेका छन् ।   

तरकारी खेतीबाट राम्रो आम्दानी गर्नाका साथै अहिले कुमारी बैंकको चार लाख ऋण तिरी बाँकी तीन लाखको ब्याज तिरिरहेको र कैलालीको अत्तरियामा आधा कठ्ठा जग्गा जोड्न सफल भएको उनले सुनाए । 

तरकारीका लागि उर्वर भूमि

बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि किसानले फोनमार्फत व्यापारीलाई बोलाएपछि व्यवसायीले  चलनचल्तीको मूल्यमै बारीबाट तरकारी खरिद गरी लैजाने गरेका छन् । केही तरकारी स्थानीय बजारमा  बिक्री हुने गरेको छ । 

जोरायल गाउँपालिकालाई डोटी जिल्लाकै तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यस क्षेत्रका किसानले करेला, टमाटर  खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भण्टा, भेँडे खुर्सानीलगायत लगाउने गरेका छन्  । 

कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ,  कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनाका साथै किसानको क्षमता विकास, उत्पादन सामग्रीसँगै साना सिँचाइ निर्माण तथा मर्मत सम्भारमा सहयोेग गरिरहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख  नरेन्द्र पनेरुले बताए ।  

उनले जिल्लामा फलफूल तथा तरकारी खेतीका लागि  जोरायल गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका, फलफूल खेतीका लागि बडीकेदार गाउँपालिका र बोगटान फुड्शील गाउँपालिका, बीउ उत्पादनका लागि जोरायल गाउँपालिका तथा अदुवा बेसारका लागि बडीकेदार गाउँपालिका र बोगटान फुड्शील गाउँपालिकालाई पकेट क्षेत्र निर्धारण गरिएको जानकारी दिए ।