close

ड्रागन खेतिबाट वर्षमा १२ लाख कमाउँदै शम्भुप्रसाद

ड्रागन खेतिबाट वर्षमा १२ लाख कमाउँदै शम्भुप्रसाद

Trulli
ADVERTISEMENT

भोजपुर ।  टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक  ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए । 

१० वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले १५०० पिलरमा ड्रागन लगाएका । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ ।८५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले बताए । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् ।  

“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उनले भने, “वर्षमा १२ लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।”

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ । सडकको कारण बजारसम्म पुर्‍याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ । 

ड्रागन सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।