सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका रैजमुन खातुनले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गरेका छन् । साहुबाट ऋण सापटी लिएर खेती गरेका उनलाई समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन नहुने सम्भावना देखेपछि चिन्ताले सिताएको छ ।
भाडामा जग्गा लिएर खेती गरेका उनले साहुलाई भाडा तिर्नुपर्छ । “ गिरहतको कर र वर्ष दिनको खाद्यानको जोहो गर्न पनि धौधौ छ”, रैजमुन भन्छन्, “धानखेतीका लागि लिएको ऋण चुक्ता गर्न पाएको छैन, गहुँखेती कसरी गर्ने भन्ने तनावले पिरोलिन थालेको छ ।” पछिल्लो समयमा मल र बीउ नपाएर गहुँखेती राम्ररी गर्न नपाएका कोइलाडीको कृषकका यो पीडा भने नौलो होइन । अर्को बालीमा राम्रो खेती होला भन्ने आशा गरेपनि सँधै उस्तै चुनौती र पीडाको सामना गर्नुपरेको अर्का किसान चन्द्रनारायण मण्डल बताउँछन् ।
“किसानको समस्या समाधानका नाममा राज्यसँग एक थान आश्वासन मात्रै हुन्छ कि आउने मौसममा मलको अभाव हुँदैन, समयमै बीउबिजनको व्यवस्था गरिन्छ, सिँचाइको प्रवद्र्धन मिलाइने छन् । तर, आखिर कहिले ?”, मण्डल प्रश्न गर्छन्, “ आश्वासनले मात्रै किसानको समस्या सामाधान हुने होइन ।”
यतिखेर धान भित्र्याउन व्यस्त रहेका सप्तरीका किसानलाई गहुँबालीका लागि बीउ र मलको चिन्ताले छोपिसकेको छ । मलका निम्ति किसानलाई सडक आन्दोलनदेखि जिल्ला प्रशासन कार्यालय घेराउसम्म गरेपनि किसानले आवश्यक मलखाद पाउन सकेका छैनन् । तर प्रशासनदेखि जनप्रतिनिधिसम्मले अब आउने सिजनमा मल तथा बीउबिजनको अभाव नहुने प्रतिबद्धता भने जनाएका छन् ।
जहिले पनि किसानका लागि मलखाद तथा बीउबिजनको अभाव नै रहने गरेको अर्का किसान अताबुल मन्सुरीको गुनासो छ । मलको अभावमा गएको वर्ष गहुँखेतीमा घाटा बेहोरेका उनी धानबाली मा पनि घाटा झेल्नुपरेको बताउँछन् । “प्रतिकट्ठा डेढदेखि दुई मन सरदर उब्जाउ हुन्थ्यो गहुँ । तर मलको नभएर कट्ठामा १० देखि १५ केजी उब्जियो, धानको पनि उस्तै अवस्था छ”, अताबुल भन्छन्, “यस्तै अवस्था रहिरहे बचेका किसान पनि खेतीबाट विस्थापित हुन बेर लाग्दैन ।”
यस भेगका किसानले लगाउने मुख्य बाली धान र गहुँ हो । धान बाढी वर्षाले बर्बाद भएको तथा गहुँबाली लगाउन मलदेखि बीउबिजनसम्मको अभावले अन्न उपलब्धतामा कमी आउने हो भन्नेमा किसान चिन्तित छन् । निर्वाहमुखी खेती गर्ने यस भेगका किसानलाई वर्ष दिने के खाने र कसरी जीवन निर्वाह गर्ने चिन्ता र चुनौती दुवै थपिएको तिलाठीका अगुवा कृषक श्यामप्रसाद कामैत बताउँछन्।
सप्तरीमा वार्षिक २३ हजार आठ सय ५७ मेट्रिकटन युरिया, १२ हजार सात सय ८४ मेट्रिकटन डिएपी र नौ हजार २४ मेट्रिकटन पोटास आवश्यक पर्ने तथ्याङ्कले देखाउँछ । तीमध्ये हाल चार सय नौ मेट्रिकटन डिएपी र दुई सय ८३ मेट्रिकटन युरिया उपलब्ध रहेको छ ।
यसैबीच सप्तरीका किसानलाई समयमै आवश्यक मल र बीउबिजन उपलब्धताको वातावरण मिलाइ दिन स्थानीय तहले पहल गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मल उपलब्ध गराउन ज्ञापनपत्रसमेत पठाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।