close

गहुँ छर्न मल नभएपछि कृषक चिन्तित

गहुँ छर्न मल नभएपछि कृषक चिन्तित

Trulli
ADVERTISEMENT

पर्सा । पर्साका किसानलाई गहुँ खेतीका  रासायनिक मल अभाव भएको छ ।  किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको व्यवस्थापन गर्न सकेका छैनन् । 

गहुँको लागि आवश्यक मल नभएपछि खेतबारी सफा गरेर राखेका छन् । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ । मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ ।

'हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौँ', वीरगञ्ज महानगरपालिका–२८ स्थित यौङ्ग स्टार सहकारीका सञ्चालक हरिशङ्कर महतोले भने  ।

गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन् । यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरीले ल्याउन नदिएको वीरगञ्ज–१६ का रामबालक चौरसिया बताउनुहुन्छ । मल मात्र होइन् किसानलाई गहुँको बीउसमेत अभाव भएको छ । 

यसैबीच पर्सा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा पुगी सहज रुपमा किसानलाई मल उपलब्ध गराउनेबारे छलफल भएकाे बताए

त्यसैगरी पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले पनि पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका कर्मचारीहरुसित मलको अवस्थाबारे जानकारी लिएका छन्।