close

सुत्केरी गाईभैँसीलाई  पोषिलो झोल वितरण

सुत्केरी गाईभैँसीलाई  पोषिलो झोल वितरण

Trulli
ADVERTISEMENT

नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषिलो झोल (आहार) प्रदान गरेको छ । गाउँपालिका–१ र २ गाईभैँसी पालन गरेका एक सय एकजना किसानलाई पोषिलो झोल प्रदान गरिएको छ । 

यसमा सुत्केरी भएका गाईभैँसीलाई आवश्यक पर्ने क्याल्सियम,  मिनरल, आइरन झोल, सुत्केरी भएको समयमा पाचन शक्ति कमजोर हुने हुँदा भोक जाग्ने र पाचन शक्ति बढाउने  रुटामेक्स  र जन्मेको बच्चालाई बचाउन जुकाको औषधी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख रामदेव महासेठले जानकारी दिए।

गाउँपालिकाले क्रमशः सबै वडामा गाईभैँसीको सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीलाई स्याहारका लागि पशुपालक किसानलाई पोषिलो झोल प्रदान गर्ने उनले बताए । 

पहिलो चरणमा चालू आर्थिक वर्षको कार्यक्रमबाट  दुईवटा वडाका किसानलाई पोषिलो झोल वितरण कार्य सम्पन्न गरिएको छ । गाउँपालिकाका बाँकी रहेका पाँच वडामा समेत क्रमशः सङ्कलन गरिएको तथ्याङ्कअनुसार पोषिलो झोल वितरण गरिनेछ । पहिलो चरणमा पालिका भित्रका  चार सय  किसानलाई पोषिलो झोल वितरण गरिने उनको भनाइ छ । 

यो कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन हुनेछ । पहिलो चरणमा पालिकामा नाम टिपाएका किसानलाई वितरण गरेर कार्यक्रम सुरुआत गरिएको हो । अब पालिका भित्रका हरेक किसानले आफ्नो गाईभैँसी सुत्केरी भएकै दिन पोषिलो झोल प्राप्त गर्ने उनले बताए। 

गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीका अनुसार पालिकाले यो कार्यक्रम  निम्न आयस्रोत भएका किसानलाई लक्षित गरेर सञ्चालन गरेको हो । 'निम्न  वर्गीय किसानले गाईभैँसी सुत्केरी भएपछि उनीहरूका लागि आवश्यक पर्ने पौष्टिक तत्व खरीद गरेर खुवाउने क्षमता हुँदैन, यसले गाईभैँसीको स्वास्थ्यमा पनि असर पर्छ र दूध उत्पादन पनि कम हुन्छ, निम्नवर्गीय किसानले लाभ लिन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ', उनले भने । 

गाउँपालिकाभित्र पशुपालन गरेका किसानलाई पशुपालन व्यवसायमा थप  प्रोत्साहनसमेत मिलोस् भनेर यस्तो खालको कार्यक्रम राखिएको उनले बताए । गाईभैँसीको सुत्केरी स्याहार तथा पोषिलो झोल कार्यक्रमका लागि पालिकाले चालू आवमा रु १५ लाख विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए।