बाँके। डुडुवा गाउँपालिकाले धान, गहुँ, मकै र मसुरोको बीउ उत्पादनलाई जोड दिएको छ । किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीति रहेको छ । पालिकामा धान, गहुँ, मकै, मसुरोको बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान भइ सञ्चालनको प्रक्रियामा रहेको छ । यो प्लान्टले प्रतिघण्टा एक मेट्रिक टन बीउ प्रशोधन गर्न सक्छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर स्थापना गरिएको छ ।
आलु बीउ भण्डारणका लागि कोल्डस्टोर बनाउने योजना अघि सारिएको र यसका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ । डुडुवामा पाँच सय मेट्रिक टन बीउ खपत भई नौ सय मेट्रिक टन आलु उत्पादन हुन्छ । शीत भण्डारमा आलु, प्याज र लसुन राख्न सकिन्छ ।
विगतमा यहाँका कृषकले भारतको नानपारा र पछि कोहलपुरमा लगेर राख्न बीउ राख्ने गरेका थिए। अब पालिकामै किसानले बीउ भण्डारण गर्न सक्ने भएका छन्। पालिकाले बीउमा आत्मनिर्भर गराउने योजनाअघि सार्दा किसानलाई प्रत्यक्ष फाइदा हुने भएको छ ।
पालिकाले बगर खेती प्रवर्द्धनलाई अगाडि सार्ने योजना बनाएको छ । गाउँपालिकाका कृषि शाखाका प्रमुख सुशीलकुमार शर्माका अनुसार राप्ती नदी र डुडुवा नालाले ठूलो जमिनलाई बगर बनाएको छ । त्यहाँ तोरी, मसुरो, लहरेबाली लगाउने रणनीति बनाइएको छ ।
केही किसानले बगरमा लहरेबाली अर्थात् लौका, फर्सी, करेला, बोडी, तर्बुजा, खर्बुजा लगाएका थिए । बगरमा जग्गाको विवाद देखिन थालेपछि पालिकाले जग्गाको यकीन गरेर छ फिटको पिलर नै गाड्न सुरु गरेको छ । ‘राप्ती नदीको धार कहिले कता जान्छ, कहिले कता जान्छ, बगरमा जग्गा विवाद देखियो’, कृषि शाखा प्रमुख शर्माले भने, ‘सँधैका लागि विवाद मिलाउन छ फिटको ढलान पिलर गाड्न सुरु गरेका छौँ । यसो गरेपछि जग्गा विवाद टुङ्गिन्छ ।’
भारतले सन् १९८५ देखि १९९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध बन्नुका साथै पछिल्लो समयमा दशगजामै पक्की बाँध बनेको छ। जसका कारण डुडुवाका धेरै बस्ती डुबान, कटान र पटानको जोखिममा रहेका छन् । राप्ती नदीमा बाढी आउँदा सबैभन्दा पहिला डुडुवाका होलिया, बेतहनी, वनकट्टी, कम्दीका केही भाग डुबानमा पर्छन् । बाढीले गर्दा बगर बनेको ठाउँमा खेती गर्न पालिकाले योजना अघि सारेपछि ठूलो सङ्ख्याका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
डुडुवाको कूल क्षेत्रफल नौ हजार एक सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन चार हजार दुई सय १८ हेक्टर रहेको छ । पालिकाको कूल क्षेत्रफलमध्ये आधाजसो मात्रै खेतीयोग्य जमिन रहेकाले ठूलो सङ्ख्याका परिवारलाई वर्षभरि खान पुग्ने उत्पादन हुन नसक्दा यहाँका बासिन्दा खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् । पालिकामा १७ दशमलव ४६ प्रतिशत घरपरिवारलाई आफ्नै उत्पादनले तीन महिनासम्म खान पुग्छ । चारदेखि छ महिनासम्म खाना पुग्ने २१ दशमलव ६७ प्रतिशत घरपरिवार रहेका छन् । सातदेखि नौ महिनासम्म २१ दशमलव ५७ प्रतिशत घरपरिवारलाई खान पुग्छ । नौदेखि बाह्र महिनासम्म आफ्नै उत्पादनले खान पुग्ने घरपरिवार ३९ दशमलव २९ प्रतिशत रहेका छन् ।
पालिकामा धानबालीको औसत उत्पादन प्रतिहेक्टरमा ४.३ मेट्रिक टन रहेको छ । मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ । पालिकाले सबै उत्पादन बढाउनका लागि केहीमा निःशुल्क त केहीमा ५० प्रतिशत अनुदानमा बीउ दिने गरेको छ । प्रत्येक घरधुरीलाई टोकन दिइएको छ । धान र गहुँको बीउ ५० प्रतिशत अनुदानमा दिइएको छ । विभिन्न समूह र सहकारीबाट बीउ दिइएको छ । तरकारीको बीउ निःशुल्क बाँडिएको छ । व्यावसायिक किसानलाई पालिकाले ५० प्रतिशत अनुदानमा बीउ दिने गरेको छ ।
साउन र भदौ महिनाबाहेक अरु महिना तरकारी फलाउने उचे मसहाका किसान नैन खाँले वार्षिक रु आठ लाख मुनाफा कमाउने बताए। ‘काउली, गोलभेडा, भन्टा, खुर्सानी, मूला, रायो साग, आलु लगाउँछु । वर्षमा आठ लाख रुपैयाँ फाइदा हुन्छ’, किसान खाँले भने, ‘वर्षमा दुई पटक तरकारी फलाएर बेच्ने गरेको छु ।’
किसानको उत्पादनलाई बजारीकरण गर्नका लागि पालिकाले कोशेली घर बनाइरहेको छ । वडा नं २ को जाफरपुरुवामा बनेको कोशेली घर निर्माण अन्तिम चरणमा पुगेको छ । कोशेली घर बनेपछि कृषिजन्य उत्पादन बिक्री वितरण गर्न सहज हुनेछ ।
पालिकाले रासायनिक मलको सहजताका लागि १८ वटा सहकारीलाई सूचीकृत गरेको छ । धेरै सहकारीलाई सूचीकृत गर्नेमा डुडुवा अगाडि रहेको छ । पालिकाले किसानलाई तरकारी बीउ, मिनी किट र फलफूलका बिरुवादेखि ढुसीनासक विषादी, कृषियन्त्र औजार थ्रेसर, सिँचाइ मोटर, पम्पसेटलगायतका सामग्रीहरु वितरण गरेको छ । पालिकाले प्रत्येक घरधुरीमा तरकारी खेतीका लागि तरकारीको बीउबिजन वितरण गरेको छ ।