close

हल गोरु पाल्नेलाई १० हजार अनुदान

हल गोरु पाल्नेलाई १० हजार अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले हलगोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषिमा प्रोत्साहन बढाउनको लागि नगरपालिकाले १० हजार रुपैयाँ अनुदान दिन लागेको हो । 

नगरप्रमुख बालकृष्ण बस्नेतका अनुसार पालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनको लागि किसानलाई अनुदान दिने निर्णय गरेको हो । 

उनले सो कार्यक्रम लागू गर्नको लागि पालिकाभित्रका ९ वटै वडामा हल गोरु पाल्ने कृषकको तथ्यांक संकलन भइरहेको बताए । तथ्यांक संकलनको कार्य सकिएपछि आगामी माघ १ गतेदेखि सो रकम वितरण गर्न सुरु गरिने उनले पालिकाखबरलाई बताए । 

उनले विगतका वर्षमा कृषकको सहजताको लागि ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेपनि प्रभावकारी नभएको बताए । 'हाम्रो पालिकाको सबै क्षेत्रमा ट्याक्टर जान सक्ने अवस्था छैन,' उनले भने, 'ट्याक्टरको वैकल्पिकको रुपमा हामीले हलगोरुलाई अनुदान दिने योजना ल्याएका हौँ ।'

 ट्याक्टरको तुलनामा गोरुले धेरै जोत्ने भएकोले कृषि उत्पादन तुलनात्मक रुपमा बढी हुने उनको दावी छ । कार्यक्रमको लागि नगरपालिकाले २५ लाख रुपैयाँ वजेट विनियोजना गरिएको बताए । '२५ लाखले बढीमा १० देखि पन्ध्र वटा ट्याक्टर आउँछ,' उनले भने, 'तर हलगोरुमा १० हजारको दरले २५० जना कृषकलाई अनुदान दिन पुग्छ ।' 

गोरुको गोबरबाट मल, २५० जना कृषकले रोजगारी पाउने र थोरैले धेरै कृषकलाई सहज हुने भएकाले हल गोरुलाई अनुदान दिन लागेको उनले बताए । 

पछिल्लो समय गोरु विस्थापित हुँदै गएकोले सोको संरक्षणसमेत हुने उनको विश्वास छ ।