close

निसेलढोरमा स्याउखेती विस्तार गर्दै पालिका

निसेलढोरमा स्याउखेती विस्तार गर्दै पालिका

Trulli
ADVERTISEMENT

बागलुङ। बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउखेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ ।

निसेलढोरभन्दा वडा नं ६ केही औलमा पर्छ । सिप, भल्कोटलगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञानबिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि खुसी हुन थालेका छन् । 

वर्षौं अगाडि गाउँमा स्याउ लगाए पनि उत्पादन राम्रो नदिएको स्थानीय ओमबहादुर घर्तीमगर बताउँछन्। उनले वडा नं ६ को सीपमा स्थानीयले प्राविधि ज्ञानबिनै स्याउ लगाएको हुँदा फलाउन नसकेको भन्दै यसपाली स्थानीय सरकारकै सहयोग हुँदा उत्पादन राम्रो हुनेमा आशावादी रहेको बताए।

    उनी भन्छन्, ‘यो ठाउँ भौगोलिक हिसाबले पनि उच्च ठाउँमै छ, पहिला लगाउने बेला कुनै माटो परीक्षण भएन, बिरुवा लिएर लगाइयो, अलिअलि दाना हाले पनि धेरै फलाउन सकिएन, प्राविधिक ज्ञान केही पनि थिएन, परम्पराग रुपमै लगाइएको थियो, अहिले अलि फरक तरिकाले लाइएको छ, उत्पादन राम्रो होला ।’

    उनले पहिले स्याउ लगाएको केही वर्षसम्म राम्रो भए पनि पछि रोग लाग्ने, सुक्ने र फलनै नदिने समस्या आएको सुनाए। गाउँपालिकाको सहयोगमा स्याउखेती विस्तार हुँदा यहाँका कृषक उत्साहित भएको घर्तीमगर बताउँछन्। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार यहाँ स्याउखेती विस्तार गर्न थालिएको बताउनुभयो । 

    उनले स्याउका बिरुवा लगाउन थालेपछि कृषक निकै उत्साहित भएको बताए। यस वर्ष वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइने अध्यक्ष घर्तीमगर बताउँछन्। गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती बिस्तार गर्न थालेको उनको भनाइ छ । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्का क्षेत्रमा स्याउ लगाउन थालिएको उनले बताए। 

    ‘गाउँपालिकाले जुन क्षेत्रमा स्याउ लगाउन थालेको छ, ती सबै क्षेत्र सम्भावना भएका ठाउँ हुन्, यी ठाउँमध्ये केही ठाउँमा पहिले पनि स्याउ लगाइएको थियो, तर राम्रो भएन’, अध्यक्ष घर्तीमगरले भने, ‘यस वर्ष राम्रो हुने आश गरेका छौँ, किनकी प्राविधिकरुपमै अनुसन्धान गरेर स्याउका बिरुवा रोप्न थालेका छौँ ।’

स्याउखेती विस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउने अध्यक्ष घर्तीमगर बताए। उनले युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरी उत्पादनसँग जोड्नका लागि स्याउखेतीमा जोड दिएको बताउँछन्। उनी भन्छन्, ‘अहिले दैनिकजसो युवा विदेश गइरहेका छन्, यहाँ यति ठूलो सम्भावना छ, तर चिन्न नसक्दा विदेशिन परेको छ, गाउँका धेरै जग्गा बाँझिँदै गए, अब यी सबैलाई उत्पादनसँग जोड्ने युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो अभियान छ, स्याउ खेतीले पनि यो अभियानलाई सार्थकता बनाउने छ ।’

    गाउँपालिकाका कृषि शाखा प्रमुख ताराबहादुर परियारले दर्ता भएका कृषि फार्म तथा समूहलाई बिरुवा प्रदान गरिएको बताए। उनले वडा नं ५ र ६ का ४५ समूहलाई चार सय पचास स्याउका बिरुवा दिइएको बताए। माटो परीक्षण गरेर यहाँको हावापानी र वातावरण अनुकूल हुने फुजी जातको स्याउ यहाँ लगाउन थालिएको परियारले जानकारी दिए।

    पाल्पामा उत्पादन गरिँदै आएका स्याउका बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको उनी बताउँछन्। निसीखोलामा दुई हजारदेखि चार हजार मिटर उचाइसम्म स्याउका बिरुवा लगाइने उनको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने सीप, चोरबास, कोस्कालगायत क्षेत्र भने दुई हजार आठ सय आसपासको उचाइमा पर्छन् ।

    कृषि शाखा प्रमुख परियार भन्छन्, ‘यहाँको भूगोल, स्याउका लागि चाहिने वातावरण, हावापानीका बारेमा अध्ययन गरेर फुजी जातको स्याउ लगाउन थालेका हौँ। उचाइ मिलाएर स्याउ लगाउन थालिएको हुँदा उत्पादन राम्रो दिन्छ भन्ने लागेको छ ।’

    उनले सुरुमा स्याउ खेतीका बारेमा कृषकलाई तालिम दिएको र उनीहरुको मागअनुसार विभिन्न क्षेत्रमा स्याउ लगाउने योजना बनाएको बताए । यस वर्ष गाउँपालिकाले स्याउ खेती गर्न चाहने कृषि समूहलाई निःशुल्क बिरुवा र आवश्यक सामग्री पनि उपलब्ध गराएको उनी बताउँछन्। ‘कृषकले स्याउ लगाइसकेपछि समयसमयमा त्यसको निरीक्षण, परीक्षण र कृषकलाई आवश्यक तालिम तथा परामर्श पनि पालिकाले दिनेछ। त्योसँगै अन्य प्राविधिक सहयोग पनि पालिकाले निरन्तर दिँदै जानेछ’, परियारले भने।